काठमाडौँ। अरहान्त केशर सिंह र स्वस्थानी श्रेष्ठले एनएसआरए राष्ट्रिय र्याङकिङ स्क्वास प्रतियोगिताको उपाधि जितेका छन्। नेपाल स्क्वास एन्ड र्याकेट्स संघको आयोजनामा भएको प्रतियोगिताअन्तर्गत पुरुष एकलको फाइनलमा शुक्रबार अरहान्तले अमिर ब्लोनलाई चार सेटमा ११–५, ६–११, ११–१ र ११–५ ले हराए।
महिला एकलमा स्वस्थानी श्रेष्ठले राष्ट्रिय च्याम्पियन बिपना ब्लोनलाई चार सेटमै ११–७, ९–११, ११–४, ११–५ ले पराजित गरिन्।
सातदोबाटोस्थित स्क्वास हलमा शुक्रबार नै तेस्रो स्थानका लागि भएको खेलमा दीपक थापाले पासाङ ब्लोनलाई चार सेटमै २–११, ११–०, ११–६ र ११–४ ले हराउनुभयो। महिला एकलमा कृष्णा थापा अस्मिता नगरकोटीलाई सिधा सेटमा ११–५, ११–७ र ११–३ ले हराएर तेस्रो भए।
यस प्रतियोगिताबाट प्राप्त खेलाडीहरूको वरीयता २०८१ सालको चैत महिनासम्म रहनेछ। यसैगरी, शीर्ष चार स्थानमा रहने खेलाडीलाई स्क्वास संघले नगद पुरस्कारबाट पुरस्कृत गरेको थियो।