काठमाडौँ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पेरिस ओलम्पिकको तयारीका लागि ब्याडमिन्टनका प्रिन्स दाहाललाई बुधबार खेल सामाग्री प्रदान गरेको छ।
राखेपका सदस्य–सचिव टंकलाल घिसिङले ब्याडमिन्टनका मुख्य प्रशिक्षक सुदीप योञ्जनको उपस्थितिमा प्रिन्सलाई खेल सामाग्री हस्तान्तरण गरे। प्रिन्सलाई र्याकेट, स्ट्रिङ, जुत्ता र ब्याग प्रदान गरियो।
सदस्य–सचिव घिसिङले खेल सामाग्री प्रदान गर्नुअघि माग गरे अनुसारको गुणस्तरको छ कि छैन भनी प्रिन्ससँग यकिन गरेपछि मात्र सामाग्री हस्तान्तरण गरेका थिए।
प्रिन्स केही दिनअघि वाइल्ड कार्डमार्फत पेरिस ओलम्पिकका लागि छनोट भएका थिए। कुनै पनि गृष्मकालीन ओलम्पिकका लागि नेपाली ब्याडमिन्टन खेलाडीले सहभागिता जनाउन लागेको पहिलो अवसर हो।