पोखरा। पोखरामा शिक्षकलक्षित पाँच दिने गण्डकी प्रदेशस्तरीय ह्यान्डबल प्रशिक्षक कार्यक्रम शुरू भएको छ।
प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना तथा गण्डकी प्रदेश ह्यान्डबल संघको व्यवस्थापनमा पोखरा रंगशालामा शुरू भएको उक्त प्रशिक्षण कार्यक्रमको प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माले शुभारम्भ गरेका हुन्।
सो अवसरमा बोल्दै सदस्य सचिव शर्माले परिषद् तल्लो तहबाटै खेलकुदको जग बलियो बनाउने अभियानमा अघि बढेको बताए।
युवा खेलाडी उत्पादन गर्नका लागि नै विद्यालयका खेल शिक्षकलक्षित विभिन्न प्रशिक्षण कार्यक्रम लगायत दशौँ राष्ट्रिय खेलकुदका लागि विभिन्न प्रतियोगिताहरू समेत परिषद्ले तय गरेको उनले बताए। त्यसैले खेलकुद विकासका लागि सबैसँग सहकार्य गर्दै अघि बढ्ने उनको भनाइ थियो।
निवर्तमान सदस्य सचिव एवं नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेजबहादुर गुरुङले परिषद्ले अघि सारेको अभियान महत्त्वपूर्ण रहेको बताउँदै कार्यक्रम जिल्लाहरूमा युवा ह्यान्डबल खेलाडी उत्पादनका लागि सहयोगी हुने बताए। अबको प्रशिक्षण प्रविधिमैत्री बनाउनसमेत उनले जोड दिए।
पोखरा रंगशालामा शुरू भएको प्रशिक्षणमा विभिन्न जिल्लाका विभिन्न विद्यालयका ४० जना शिक्षकहरूको सहभागिता रहेको प्रदेश ह्यान्डबल संघका अध्यक्ष केशव पाठकले जानकारी दिए। सहभागीहरूलाई प्रशिक्षकहरू रामबहादुर क्षेत्री, चित्रबहादुर थापा, विशाल बस्नेतलगायतले प्रशिक्षण दिने कार्यक्रम रहेको छ।