काठमाडौँ। विद्यालय खेलकुदमा ई स्पोर्ट्स खेलको प्रवर्द्धन गर्ने उद्धेश्यले ई स्पोर्ट्स संघ नेपाल (ईशान)ले नेपाल विद्यालय खेलकुद महासंघसँग साझेदारी गरेको छ। विद्यालय खेलकुदमा ई स्पोर्ट्स खेलको विकास र प्रवर्द्धन गर्ने लक्ष्य सहित ईशानले विद्यालय खेलकुद महासंघसँग आइतबार सम्झौता पत्रमा हस्ताक्षर गरेको हो।
ईशानका अध्यक्ष अन्जन धमला र विद्यालय खेलकुद महासंघका अध्यक्ष विनोद श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। सम्झौतामा अन्तराष्ट्रिय विद्यालय खेलकुद महासंघ (आईएसएफ) समेत साझेदार रहनेछ।
आईएसएफको प्रतिनिधिको रुपमा राजकुमार कार्कीले समझदारी पत्रमा हस्ताक्षर गरे। सम्झौता अनुसार विद्यालय खेलकुदमा ई स्पोर्ट्सलाई समावेश गर्ने र विद्यालय खेलकुदको अभियानमा ई स्पोर्ट्स साझेदार संस्थाको रुपमा रहने सहमती छ।
सम्झौता अनुसार विद्यालय खेलकुदमा ई स्पोर्ट्स खेलका प्रतियोगिता, पूर्वाधार विकास, नीति निर्माण, तालिम तथा क्षमता अभिवृद्धि, खोज अनुसन्धानमा दुवै संस्थाले मिलेर काम गर्ने उल्लेख छ।
आईएसएफका केन्द्रिय सदस्य समेत रहेका राजकुमार कार्की विद्यालय खेलकुद र ई स्पोर्ट्स खेलको विकासमा सम्झौता कोशेढुङ्गा सावित हुने बताए। उनले नयाँ खेल स्पर्धाको रुपमा विकास भैरहेको ई स्पोर्ट्सलाई विद्यालयसम्म लैजाने उद्धेश्यले सम्झौता गरिएको बताए।
ई स्पोर्ट्स संघ नेपालका अध्यक्ष अन्जन धमलाले खेलकुदको मेरुदण्डकै विद्यालय खेलकुद रहेको बताउँदै नेपालको ई स्पोर्ट्स खेलको विकासमा सम्झौताले महत्वपुर्ण योगदान गर्ने उल्लेख गरे। उनले विद्यालयमानै ई स्पोर्ट्सप्रति आकर्षण रहेकाले पछिल्लो सम्झौताले दुरगामी प्रभाव पार्ने बताए।
विद्यालय खेलकुद महासंघका अध्यक्ष विनोद श्रेष्ठले खेलकुदबाट मात्र नेपालले अन्तराष्ट्रिय रुपमा जित्न सक्ने उल्लेख गर्दै परिणाम निकाल्ने गरि दुवै संस्थाले काम गर्नुपर्ने बताए।