काठमाडौँ। बागमती प्रदेश टेकबल संघको प्रथम अधिवेशन शनिबार भक्तपुरमा सम्पन्न भएको छ। प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशका बोर्ड सदस्य र टेकबल संघका केन्द्रीय अध्यक्षको उपस्थितिमा बागमती प्रदेश टेकबल संघको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको हो।
अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमशः राजनकुमार श्रेष्ठ, विदुर कँडेल, माधवी बोस, रवीन्द्र लाछिमस्यु र सबिता रेग्मी रहेको १३ सदस्य कार्यसमिति चयन गरेको छ।
राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार गठन भएको बागमती प्रदेश टेकबल संघको तदर्थ समितिले बनाएको विधानलाई सर्वसम्मत रूपमा पारित गरी नयाँ कार्यसमिति बनेको हो। नयाँ कार्यसमितिको कार्यकाल ५ वर्ष रहने छ।
नवनिर्वाचित समितिलाई बधाई तथा शुभकामना दिँदै प्रमुख अतिथि तथा बागमती प्रदेश खेलकुद विकास परिषद् बोर्ड सदस्य सुनिता गौतमले परिषद्को तर्फबाट टेकबल खेल विकास र विस्तारमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
विशेष अतिथि तथा नेपाल टेकबल संघका केन्द्रीय अध्यक्ष सुवास श्रेष्ठ निर्वाचित पदाधिकारीलाई बधाई दिँदै संघ गठनले नेपालमा टेकबल खेलको विकासमा थप सहयोग पुग्ने आशा व्यक्त गरे।
बागमती प्रदेश देशकै राजधानी र धेरै टेकबल खेलाडी रहेको प्रदेश रहेकोले प्रदेश टेकबल संघको गठनले अझ खेलकुद विकासमा देशलाई ठूलो सहयोग हुने उनले बताए। आगामी आर्थिक वर्षमा बागमती प्रदेशका १३ वटै जिल्लामा जिल्ला टेकबल संघ र पालिकास्तरीय संघ गठन गर्ने निर्णयसमेत गरिएको छ।
केन्द्रीय अध्यक्ष सुवास श्रेष्ठले अब १ महिना भित्र काठमाडौँमा ठूलो कार्यक्रमको आयोजना गरी राखेपमा दर्ता गर्ने र अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्ने घोषणासमेत गरे।