पोखरा। वर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड भलिबलका रमेश केसीले जितेका छन्। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा उनले उक्त उपाधि जितेका हुन्।
पोखरा सभागृह हलमा शुक्रबार आयोजना भएको अवार्ड कार्यक्रम अन्तरगत यो विधामा केसीसहित टेनिसका नीरज थापा र क्रिकेटका रिजन प्रजु मनोनयनमा परेका थिए। वर्ष उत्कृष्ट प्रशिक्षकतर्फका विजेताले३५ हजार रुपैयाँको साथमा ट्रफी प्राप्त गरे। उत्कृष्ट ३ को मनोनयन सूचीमा परेकाहरुलाई मनोनयन ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो।
यस्तै, यो वर्षको लाइफटाइम अचिभमेन्ट अवार्ड एथलेटिक्स प्रशिक्षक इन्द्रा मल्ललाई अर्पण गरियो। मल्ललाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिएको हो। वर्ष उत्कृष्ट खेल संस्था वा क्लबतर्फको अवार्ड सहारा क्लब पोखरालाई प्रदान गरियो। वर्ष उत्कृष्ट खेल पत्रकारतर्फको अवार्ड रोहितराज पराजुलीलाई अर्पण गरियो। वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट पत्रकार तर्फका अवार्ड विजेताले३५ हजार रुपैयाँको साथमा अवार्ड प्राप्त गरे।
यसैगरी, ओलम्पियन खेलाडी नारायण गुरुङ र टेनिसको अन्तरराष्ट्रिय वरियता प्राप्त खेलाडी अभिषेक बाँस्तोलालाई विशेष (स्पेशल) अवार्डबाट सम्मान गरियो।