पोखरा। वर्ष खेलाडी पुरुषको उपाधि क्रिकेटका अर्जुन कुमालले जितेका छन्। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा उनले उक्त उपाधि जितेका हुन्।
पोखरा सभागृह हलमा शुक्रबार आयोजना भएको अवार्ड कार्यक्रमअन्तर्गत यो विधामा कुमालसँगै टेनिसका प्रदीप खड्का र भलिबलका हिमाल सुनारी मनोनयनमा परेका थिए।
वर्ष खेलाडी महिला विधाको अवार्ड आईटीएफ तेक्वान्दोकी सुस्मिता थापामगरले हात पारिन्। यो विधामा सुस्मितासँगै आर्चरीकी अनुश्का शेरचन, भलिबलकी अरुणा शाही मनोनयनमा परेका थिए।
वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिला हुन सफल खेलाडीले टेल्जी ब्रान्डको इलेक्ट्रिक स्कुटर र ट्रफी हात पार्न सफल भए।
१७ वर्ष मुनिका खेलाडीबीच प्रतिस्पर्धा भएको उदीयमान खेलाडी विधाको अवार्ड ब्याडमिन्टनकी दिलासा रानाको पोल्टामा पर्यो। रानासहित क्रिकेटकी ज्योत्सनिका मरासिनी र एथलेटिक्सका बादल कार्की यो विधाको मनोनयनमा परेका थिए। वर्ष उत्कृष्ट उदीयमान खेलाडीले ३५ हजार रुपैयाँको साथमा ट्रफी प्राप्त गरे।