पोखरा। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड २०८० को सम्पूर्ण तयारी पूरा भएको छ।
आयोजकले बिहीबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर दिएको जानकारी अनुसार अवार्ड समारोह भोलि (शुक्रबार) दिउँसो ठिक २:४५ बजेदेखि पोखरा सभागृह हलमा शुरू हुनेछ।
वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, लाइफटाइम अचिभमेन्ट अवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेलकुद संस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकार गरेर ७ विधामा अवार्ड प्रदान गरिने मञ्चका अध्यक्ष तथा मूल आयोजक समितिका संयोजक दीननाथ बरालले बताए। यी मध्येमा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी गरेर चार वटा विधाको उत्कृष्ट तीन मनोनयन सार्वजनिक भैसकेको छ।
जसअनुसार वर्ष खेलाडी पुरुष विधामा क्रिकेटका अर्जुन कुमाल, टेनिसका प्रदीप खड्का र भलिबलका हिमाल सुनारी मनोनयनमा परेका छन्। वर्ष खेलाडी महिला विधामा आर्चरीकी अनुश्का शेरचन, भलिबलकी अरुणा शाही र आईटीएफ तेक्वान्दोकी सुस्मिता थापामगर रहेका छन्। वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिला हुन सफल खेलाडीले टेल्जी ब्रान्डको इलेक्ट्रिक स्कुटर र ट्रफी हात पार्ने अध्यक्ष बरालले खुलाए।
१७ वर्ष मुनिका खेलाडीबीच प्रतिस्पर्धा हुने उदीयमान खेलाडी विधामा क्रिकेटकी ज्योत्सनिका मरासिनी, ब्याडमिन्टनकी दिलाशा राना र एथलेटिक्सका बादल कार्की रहेका छन्।
उत्कृष्ट प्रशिक्षक विधामा टेनिसका नीरज थापा, भलिबलका रमेश केसी र क्रिकेटका रिजन प्रजु छन्। वर्ष उत्कृष्ट उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षकतर्फका विजेताले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी पाउने छन्। उत्कृष्ट ३ को मनोनयन सूचीमा परेकाहरूलाई मनोनयन ट्रफी प्रमाणपत्र प्रदान गरिनेछ।
यस्तै, यो वर्षको लाइफटाइम अचिभमेन्ट अवार्ड एथ्लेटिक्स प्रशिक्षक इन्द्रा मल्ललाई प्रदान गर्ने घोषणा भइसकेको छ। मल्ललाई चाँदीको करुवा, ट्रफी, ताम्र पत्र र दोसल्लाले सम्मान गरिनेछ।
वर्ष उत्कृष्ट खेल संस्था वा क्लबतर्फको अवार्ड सहारा क्लब पोखरालाई प्रदान गरिनेछ। वर्ष उत्कृष्ट खेल पत्रकारतर्फको अवार्ड रोहितराज पराजुलीलाई अर्पण गरिनेछ। वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट पत्रकारतर्फका अवार्ड विजेताले नगद ३५ हजार रुपैयाँको साथमा अवार्ड पाउने छन्।
ओलम्पियन खेलाडी नारायण गुरुङ र टेनिसको अन्तर्राष्ट्रिय वरियता प्राप्त खेलाडी अभिषेक बास्तोलालाई विशेष (स्पेसल) अवार्डबाट सम्मान गर्ने निर्णयसमेत खेलकुद पत्रकार मञ्च गण्डकीको ३९औँ बैठकले गरेको महासचिव राजाराम पौडेलले जानकारी दिए।