काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्वाङले फिफा विश्वकप २०२६ र एएफसी एशियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत यूएईविरुद्धको दोस्रो चरणको खेल दशरथ रंगशालामै हुने सम्भावना जीवितै रहेको बताएका छन्।
मंगलबार त्रिपुरेश्वरस्थित दरशथर रंगशालाको निरिक्षण गर्दै उनले एशियाली फुटबल महासंघ (एएफसी)ले केही कुरा सुधार गर्न सुझाव दिएको र त्यसबारे १० दिनभित्र कुरा गरेर यूएईसँगको खेल यही गराउन आफूहरू लागिपरेको जानकारी दिएका हुन्।
समूह ‘एच’ मा रहेको नेपालले ‘होम एन्ड अवे’अन्तर्गत यूएईमा पहिलो खेल उसैको मैदानमा खेलिसकेको छ। अब यूएईले जुन ६ मा नेपालको भ्रमण गर्ने तालिका रहेको छ। तर, एएफसीले मैदानको पिच, फ्लड लाइट र सुरक्षाका विषयलाई लिएर प्रश्न उठाएपछि नेपालले घरेलु मैदानमा खेल्नुपर्ने खेल सर्ने सम्भावना बढेको छ।
‘एएफसीले केही कुरा सुधार गर्नुपर्छ भनेर पत्र आएको छ। अहिले मैदानको अवस्थालाई सुधार्न द्रूत गतिमा काम भइरहेको छ। मन्त्रीज्यू, सदस्य सचिवज्यू र एन्फा हामी तीनै पक्ष नेपालमा मै गेम गराउन लागिपरेका छौँ। यूएई र नेपालको गेम यही मैदानमा हुने सम्भावना अझै जीवितै रहेको छ,’ उनले भने।
यसअघि मैदानको स्तर राम्रो नभएपछि मार्च २२ मा बहराइनसँग दशरथ रंगशालको हुनुपर्ने खेल नेपालले गुमाएको थियो। लगत्तै राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आफ्नो मातहत रहेको दशरथ रंगशालाको मैदानको गुणस्तर र स्तरोन्नतिमा सन्तोषजनक कार्य नभएको भन्दै गत चैत ६ गते एन्फाबाट खोसेको थियो। त्यसयता राखेप आफैँले मैदानको मर्मतसम्भार तथा संरक्षण गर्दै आएको छ।
सन् २०१९ मा पनि एएफसीले मैदानको गुणस्तरबारे प्रमाणपत्र मागेको नेम्वाङले बताए। अहिले पनि गत बैशाख ५ गते एएफसीले सोही किसिमको प्रमाणपत्र मागेको उनको भनाइ छ। त्यसैले राखेपका सदस्य सचिव टंकलाल घिसिङले विज्ञ टोलीबाटै मैदानको गुणस्तरको चेकजाँच गराएर प्रमाणपत्र दिने भनेर आश्वास दिएको उनको भनाइ छ।
‘परिषद्ले सबै जिम्मेवारी लिएको छ। त्यसैले हामीले पनि सहकार्य गरिरहेका छौँ। राखेपबाट सर्टिफिकेट पाएपछि एएफसीलाई बुझाउँछौँ,’ उनले भने।