पोखरा। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको आठौँ संस्करणको पोखरा स्पोट्र्स अवार्ड २०८० को तयारी तीव्र छ।
यही वैशाख २८ गते शुक्रबार हुने अवार्डका लागि ४ विधामा उत्कृष्ट तीन खेलाडीको मनोनयन सार्वजनिक गरिएको छ। जसमध्ये उदीयमान खेलाडीतर्फको विधामा क्रिकेटकी ज्योत्सनिका मरासिनी, ब्याडमिन्टनकी दिलासा राना र एथलेटिक्सका बादल कार्की उत्कृष्ट तीनमा परेका छन्।
ज्योत्सनिका मरासिनी (क्रिकेट)
१३ वर्षमै राष्ट्रिय प्रतियोगितामा चर्चा पाएको नाम हो ज्योत्सनिका मरासिनी। स्याङ्जा जन्मिएकी मरासिनीले २०७७ सालमा दाङमा भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट डेब्यू गरेकी थिइन्।
१३ वर्षको उमेरकी मरासिनीले आफूभन्दा दोब्बर बढी उमेरका दिदीहरूविरुद्ध क्रिकेट खेल्दै धेरै चर्चा बटुलेकी हुन्। उनले प्रदर्शन पनि उत्तिकै राम्रो गरेकी थिइन्।
घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गरेकी ज्योत्सनिकाले कम उमेरका कारण २०७९ मा मलेसियामा भएको यू–१९ विश्वकप गुमाएकी थिइन्।
यस वर्ष भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटमा १६ वर्षकी ज्योत्सनिका प्रतियोगिताकै उदीयमान खेलाडी घोषित भइन्। २०८० मा भएको सिनिअर टोलीको एसीसी महिला प्रिमियर कपको क्लोज क्याम्पमा परे पनि अन्तिम टोलीमा भने नाम बनाउन सकिनन्।
उनले नेपाल क्रिकेट संघ (क्यान) ले गर्ने केन्द्रीय सम्झौतामा उदीयमान खेलाडीको रूपमा स्थान बनाएकी छन्। यस वर्ष नेपालगन्जमा भएको सुशील कोइराला मेमोरियल यू–१९ क्रिकेट प्रतियोगितामा ज्योत्सनिका चौथो सर्वाधिक रन बनाउने खेलाडी बनिन्।
चितवनमा भएको मैयादेवी यू–१९ राष्ट्रिय क्रिकेटमा गण्डकी उपविजेता बन्यो। उक्त प्रतियोगितामा ज्योत्सनिका सर्वाधिक रन बनाउने खेलाडीको दोस्रो नम्बरमा रहिन्। प्रदेशस्तरीय प्रधानमन्त्री कपमा उनी उत्कृष्ट बलर घोषित भइन्।
दिलासा राना (ब्याडमिन्टन)
१० वर्षको उमेरमा बाबाले खेलेको खेल पछ्याएकी दिलासा राना सानै उमेरमा अन्तर्राष्ट्रिय खेल मात्र खेलेकी छैनन्, नेपाललाई अन्तर्राष्ट्रिय पदकसमेत दिलाएकी छन्।
लकडाउनको समयबाट उनले ब्याडमिन्टन खेल्न शुरू गरेकी हुन्। उनले यो वर्ष नेपालमा भएको साउथ एशियन रिजन जुनिअर च्याम्पियनसिपमा ३ पदक जित्न सफल भइन्। त्यसमा उनले एक रजत र दुई कांस्य पदक जितेकी हुन्।
उनले २०७९ मा गण्डकी प्रदेश भएको नवौँ राष्ट्रिय खेलकुदबाट राष्ट्रिय प्रतियोगितामा डेब्यु गरेकी थिइन्। त्यसयता उनले जुनिअरस्तरमा राष्ट्रिय प्रतियोगितामा आफ्नो पकड जमाउन सफल भएकी छन्। उनले पुष्पलाल राष्ट्रिय यू–१९ प्रतियोगितादेखि अन्तर प्रदेश राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा पदक जितिसकेकी छन्।
उनले फागुनमा काठमाडौँमा भएको १३औँ पुष्पलाल स्मृति राष्ट्रिय र्याङकिङ ब्याडमिन्टनमा जुनिअरतर्फ उपाधि जितेकी हुन्। चितवनमा भएको अन्तर प्रदेश राष्ट्रिय खेलकुदमा दिलासाले ३ पटक हार पारिन्।
उनले डब्बलमा प्रथम, मिक्स डब्बलमा दोस्रो र सिङ्गलमा तेस्रो भइन्। गत पुसमा भएको ललितपुर मेयर कपको दोस्रो र दोस्रो मोहन भुंगल फाउन्डेसन जुनियर राष्ट्रिय प्रतियोगितामा पहिलो हुन सफल भइन्।
बादल कार्की (एथलेटिक्स)
एथलेटिक्सका भविष्य हुन्, बागलुङका बादल कार्की। बागलुङ काठेखोला गाउँपालिका ७ का १७ वर्षीय बादलले नेपालबाट अन्तर्राष्ट्रिय स्तरमा पदक ल्याउनेदेखि म्याराथन दौडनसमेत भ्याइसकेका छन्।
उनले भारतको नागाल्यान्डमा भएको यु–२० साउथ एसियन क्रस कन्ट्री प्रतियोगिता अन्तर्गत ८ किमी दौडमा नेपालको तर्फबाट कांस्य पदक जितेका थिए। यस्तै पोखरा सञ्चालन हुने सफल पोखरा म्याराथनमा २ वर्ष अघि नै भाग लिएका थिए। सानै उमेरमा उनले ४२ किलोमिटर दुरी पूरा गरे।
कार्कीले भर्खरै सकिएको १४औँ केन्द्र स्तरीय राष्ट्रपति रनिङ शिल्डअन्तर्गत एथलेटिक्स खेलमा दुई स्वर्ण पदक जित्न सफल भए। १५०० र ८०० मिटर इभेन्टमा उनले स्वर्ण पदक जितेका हुन्।
उनले तेस्रो पटकमा राष्ट्रपति रनिङ शिल्डमा पदक जित्न सफल भएका हुन्। उनी जिल्ला, प्रदेशमा पदक जित्दै केन्द्र स्तरीय राष्ट्रपति रनिङ शिल्डमा भाग लिएका थिए।
उनले प्रदेश स्तरमा दुई स्वर्ण, एक रजत र एक कांस्य जितेका थिए। जिल्ला स्तरीय प्रतियोगितासमेत उनको प्रदर्शन उत्कृष्ट थियो। २०७९ मा गण्डकी प्रदेशमा भएको नवौँ राष्ट्रिय खेलकुदमा ३ हजार मिटर स्टपल चेजमा दौडेका बादल छैटौँ भएका थिए।