इटहरी। ओलम्पियन्स रियुनियन (पुनर्मिलन) तथा सेलिब्रेटी खेलाडी भेट कार्यक्रमअन्तर्गत सुनसरीको इटहरीमा वाकाथन (पैदल यात्रा) सँगै स्वागत कार्यक्रम सम्पन्न भएको छ।
कोशी प्रदेशको खेलकुदसँगै आन्तरिक पर्यटन प्रवर्द्धन लागि ओलम्पिकमा सहभागिता जनाएका खेलाडी तथा खेलकुदका चर्चित अनुहारलाई पुनर्मिलन गराउने कार्यक्रमको सुरुवात कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री रामकुमार मन्त्री खत्रीले गरेका थिए।
बिहीबार बिहान सुनसरीको इटहरीस्थित रंगशालाबाट शुरू भएको वाकाथन इटहरी चोक हुँदै दुर्गा पार्टी प्यालेसमा पुगेर टुंगिएको थियो।
पुनर्मिलन कार्यक्रममा ६० जना नेपाली ओलम्पियन्स खेलाडी र २५ जना प्रदेशभित्रका अनुभव र अभ्यासमा विशेष दक्खल राखेका चर्चित खेलाडीको सहभागिता रहेको छ। ओलम्पियन्स पुनर्मिलन कार्यक्रममा सहभागी जनाउन अस्ट्रिया, मलेसिया, सिंगापुर, बेलायतका खेलाडीहरू कोशी प्रदेशमा छन्।