काठमाडौं । रसिया चेस महासंघका १० खेलाडीसहित २० जनाको टोली समुद्री सतहबाट ५,३६४ मिटरको उचाईमा ‘एभरचेस २०२४’ खेल्दै विश्व कीर्तिमान बनाउने लक्ष्यसहित सोमबार काठमाडौं आइपुगेको थियो ।
रुसको टिममा ग्रान्डमास्टर (जीएम) अलेक्जेन्डर रियाजान्सेव सबभन्दा उच्च वरीयताका खेलाडी हुन् । उनी २६१६ रेटिङका जीएम हुन् । रुसको टिमले मंगलबार नेपाल बुद्धिचाल (चेस) महासंघको टिमविरुद्ध मैत्रीपूर्ण खेल खेलेको थियो, जसमा रियाजान्सेवले शतप्रतिशत जित हात पारेको थियो ।
याक एन्ड यतिमा भएको पाँच राउन्डको ब्लिजको टिम प्रतिस्पर्धा नेपालले १४–११ म्याच प्वाइन्ट्सले जित्यो । याइशाष यासिर खम्बू, निरन्जन प्रजापति, मिलन लामा, राजन सुवेदी र सुदीप तामाङले नेपाली टिमको प्रतिनिधित्व गरेका थिए । जीएम रियाजान्सेवसहित भ्लादिमिर सुमिलिन, ए मिन्को, ए काल्मिचेन्को, वाई कोलुडुएभ पाहुना टिमबाट बोर्डमा उत्रिएका थिए । रुसकै मोइसेभ सेर्गेले चिफ आर्बिटरको भूमिका निर्वाह गरेका थिए ।
मैत्रीपूर्ण खेलपछि रुसी टिमलाई नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन, महासचिव धरमबहादुर लामा, उपमहासचिव मोनालिशा खम्बूलगायतले सगरमाथा आधार शिविरका लागि बिदाई गरेका थिए ।
आधार शिविरमा एभर–चेस २०२४ प्रतियोगिता मे ८ तारिखमा आयोजना गरिने छ ।