पोखरा। ‘आठौँ पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को लागि ४ विधामा मनोनयन सार्वजनिक भएको छ। आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सोमबार अवार्डको ४ विधाको मनोनयन सार्वजनिक गरेको हो।
बैशाख २८ गते शुक्रबार पोखरा सभागृह हलमा आयोजना हुने अवार्डअन्तर्गत मनोनयनको वर्ष खेलाडी पुरुष विधामा क्रिकेटका अर्जुन कुमाल, टेनिसका प्रदीप खड्का र भलिबलका हिमाल सुनारी मनोनयनमा परेको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए।
वर्ष खेलाडी महिला विधामा आर्चरीकी अनुश्का शेरचन, भलिबलकी अरुणा शाही र आईटीएफ तेक्वान्दोकी सुस्मिता थापामगर मनोनयनमा परे।
१७ वर्ष मुनिका खेलाडीबीच प्रतिस्पर्धा हुने उदीयमान खेलाडी विधामा क्रिकेटकी ज्योत्सनिका मरासिनी, ब्याडमिन्टनकी दिलाशा राना र एथलेटिक्सका बादल कार्की रहेका छन्। उत्कृष्ट प्रशिक्षक विधामा टेनिसका नीरज थापा, भलिबलका रमेश केसी र क्रिकेटका रिजन प्रजु पर्न सफल भएको महासचिव पौडेलले बताए।
स्पोर्ट्स अवार्डमा कुल ७ विधामा अवार्ड प्रदान गरिनेछ। बाँकी विधाहरू लाइफ टाइम एचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेल संघ वा क्लब र पत्रकारिता अवार्डको घोषणा पछि सार्वजनिक गर्ने जनाइएको छ।