काठमाडौं । भरतपुर भ्रमण वर्ष २०२४ को प्रवर्द्धनका लागि आयोजित भरतपुर फ्ल्याट ट्रयाक – २०८० रेसको उपाधि दिपेश तामाङले जितेका छन् ।
बागमती अटोमोबाइल्स एसोसियसन र नेपाल मोटरस्पोर्टस् क्लवको संयुक्त आयोजनामा भएको प्रतियोगितामा दिपेशले उपाधि जितेका हुन् । उपाधि सहित दिपेशले ५० हजार रुपैयाँ प्राप्त गरेका छन् ।
टीभीएस रेसिङको आर्थिक सहयोगमा भएको प्रतियोगितामा विशाल दोर्जे तामाङ दोस्रो र कुशल दुलाल तेस्रो भएका थिए ।
बागमती प्रदेश सामाजिक विकास मन्त्रालय सचिव डा. भीष्मकुमार भूसाल र बागमती खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले विजेतालाई सिल्ड, मेडल, सर्टिफिकेट सहित नगद पुरस्कार प्रदान गरेका थिए । दोस्रो बनेका दोर्जेले २० र तेस्रो बनेका कुशलले १० हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिताको आयोजनाबाट खेलाडी र खेलमा स्पोर्ट्सम्यानसिपको भावना बढाउनुका साथै चितवनलाई नेपालको रेसिङ हब बनाउन मदत पुग्ने बागमती अटोमोबाइल्स एसोसियसनका अध्यक्ष राजन पियाले बताए ।