काठमाडौं । पल्सर सहिद स्मारक ए डिभिजन लिगमा च्यासल युथ क्लब र जावलाखेल युथ क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । एपीएफको हलचोक मैदानमा लिगको आफ्नो अन्तिम खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।
खेलको १० औ मिनेटमा अरुज सिंहले गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए । अफ्रिकन खेलाडी लावलले हानेको फ्रिकिकमा अरुजले हेडमार्फत गोल गरेका थिए ।
३२ औ मिनेटमा च्यासल छिरिङ गुरुङको पेनाल्टी गोलमार्फत खेलमा फर्कियो । डिबक्स भित्र जावलाखेलले फल गरेपछि प्राप्त पेनाल्टीमा च्यासल गोल गर्न सफल भएको थियो ।
खेलको आठौँ मिनेटमा च्यासलका सजिन थापाले डिबक्स भित्रबाट प्रहार गरेको बल जावलाखेलका गोलकिपर सागर श्रेष्ठले पन्च गरेर बचाएका थिए । ५८ औ मिनेटमा च्यासलका सन्तबहादुर गुरुङले गोललाई रेफ्रीले मान्यता दिएनन् । जावलाखेलका किपरलाई फल गरेको भन्दै च्यासलको गोलले मान्यता नपाएको हो ।
७७ औ मिनेटमा च्यासलले अग्रता बढाउने अवसर गुमाएको थियो । बिक्रम लिम्बुको प्रहार क्रमबारमा लागेर फर्किन पुगेको थियो । ३५ औ मिनेटमा जावलाखेलका सुरज ठकुरीको कर्नरमा आदमा डोम्बियाको हेड पोस्ट नजिकैबाट बाहिरिएको थियो ।
जावलाखेल युथका डिफेन्डर कुल्दिप कार्की म्यान अफ दी म्याच घाेषित भए । आठौँ स्थानको च्यासलले १३ खेलबाट १५ अंक जोड्यो । जावलाखेलले १३ खेलबाट १३ अंक जोड्यो ।