काठमाडौं । पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज (शनिबार) बाट अन्तिम चरणका खेलहरु सुरु हुदैछन् ।
पहिलो दिन दुई खेल हुनेछ । एपीएफको हलचोक मैदानमा हुने खेलमा जावलाखेल युथ क्लब र च्यासल युथ क्लब तथा सरस्वती युथ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
पहिलो पटक ए डिभिजन लिग खेलिरहेको च्यासलले अपेक्षा अनुसारको नजिता निकाल्न सकेन । घरेलु फुटबलका राम्रा खेलाडी अनुबन्धन गरेर पनि उसले शीर्ष ६ भित्र आफुलाई अटाउन सकेन ।
जावलाखेलको समेत यसपटकको प्रर्दशन बिर्सन लायक रह्यो । रेलिगेशन बिनाको लिग भएकाले क्लबहरुले खासै ठुलो पैसा खेलाडीमा खर्च गरेनन् । च्यासल १५ अंक सहित तालिकाको आठौं स्थानमा छ । जावलाखेल १२ अंक सहित दशाैँ स्थानमा छ ।
आजै दिउँसो साँढे २ बजे हुने खेलमा सरस्वती र पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । तालिकाको नवौँ स्थानमा रहेको सरस्वतीलाई अंक घटुवाको डर छैन । विदेशी खेलाडीको भरमा लिगमा राम्रो नतिजा ल्याउने अपेक्षा क्लबको थियो ।
विभागीय टिम पुलिसका लागि रेलिगेशन विनाको लिग गतिलो रहेन । युवा तथा अनुभवी खेलाडीले भरिएको पुलिसले अपेक्षाकृत नजिता लिगमा निकाल्न सकेन । पुलिस शीर्ष ६ भित्र रहँदै लिगको अन्त्य गर्न चाहन्छ ।
शीर्ष ६ भित्र ढुक्क हुन उसले सरस्वतीलाई हराउनुपर्नेछ । पुलिस १८ अंक सहित तालिकाको छैटौ स्थानमा छ । सरस्वती १३ अंक सहित तालिकाको नवौँ स्थानमा छ ।