काठमाडौं । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिगका १२ औं चरणका खेलहरु बुधबारबाट सकिएको छ । अब लिगमा एक चरण अर्थात् १३ औं चरणका खेलहरु बाँकी रहेको छ ।
रेलिगेसन नहुने लिगको १२ औं चरणको खेल सकिदा सिग्नेचर मनाङ मर्स्याङ्दी क्लबले उपाधिमा कब्जा जमाईसकेको छ । मनाङले दुई खेल अघि नै उपाधि जितेको हो । यस्तै संकटा क्लब उपविजेता बन्ने पक्का भएको छ ।
यस पटकको लिगका उत्कृष्ट प्रदर्शन गर्ने चार विभिन्न विधाका खेलाडी र एक प्रशिक्षकले पुरस्कार स्वरूप २ सय सिसीको पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् । यस पटक लिगमा उत्कृष्ट प्रदर्शन गर्ने गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र एक प्रशिक्षकले मोटरसाइकल पाउनेछन् ।
यस पुरस्कारका लागि धेरै खेलाडी तथा प्रशिक्षकले आफुलाई प्रतिस्पर्धीको रुपमा उभ्याईसकेका छन् । लिगका १२ औं चरणको खेल सकिदा हामीले यस पुरस्कारका दाबेदार खेलाडी र प्रशिक्षक तयार गरेका छौं ।
ती सम्भावित खेलाडी र प्रशिक्षक को को को हुन् ? तल हेर्नुहोस् ।
गोलकिपर : विशाल श्रेष्ठ
विशाल लिग च्याम्पियन सिग्नेचर मनाङ मर्स्याङ्दी क्लबका गोलकिपर हुन् । जारी लिगमा मनाङलाई च्याम्पियन बनाउन विशालको प्रदर्शन उत्कृष्ट रह्यो ।
लिगमा सबैभन्दा गोल कम खाने गोलकिपरमा विशाल रहेका छन् । यस पटक मनाङले २१ गोल गर्दा ५ गोल व्यहोरेको छ । यसपटकको लिगमा विशालको ६ खेल क्लिन सिट रहेको छ । उनले एनआरटी, सरस्वती, जावलाखेल, मछिन्द्र, आर्मी र पुलिससँगको खेलमा गोल खाएनन् ।
लिगमा जावलाखेलविरुद्ध सामान्य चोटका कारण अतिरिक्त समयमा मैदानबाट बाहिरिनु बाहेक विशालले पुरै खेल मैदानमा बिताएका छन् ।
डिफेन्डर : रन्जित धिमाल
रन्जित रुस्लान थ्री स्टारका डिफेन्डर हुन् । तर, रन्जित उत्कृष्ट डिफेन्डरसंगै लिगमा सर्वाधिक गोल गर्ने खेलाडीको शीर्ष स्थानमा रहेका छन् ।
निकै उच्च लयमा रहेका डिफेन्डर रन्जितले ७ गोल गरिसकेका छन् । उनले पाँच गोल पेनाल्टीमा गरेका छन् । एक पेनाल्टीमा भने उनले गोल गर्न सकेनन् । यस्तै उनले एक पेनाल्टीको रिवाउण्डमा गोल गर्दा एक फ्रिकिक गोल गरेका छन् ।
लिगको १२ औं चरण सकिदा रन्जित एक खेलमा म्यान अफ दि म्याच समेत बनेका थिए । त्यसैले रन्जित उत्कृष्ट डिफेन्डरका लागि दाबेदार खेलाडी हुन् । रन्जितले जारी लिगको सबै खेलमा ९० मिनेटनै मैदानमा बिताएका छन् ।
संकटा क्लबका डिफेन्डर अमित तामाङ पनि दाबेदार खेलाडीका रुपमा रहेका छन् ।
मिडफिल्डर : विशाल राई
विशाल लिग च्याम्पियन मनाङका मिडफिल्डर हुन् । मनाङलाई लिगको उपाधि जिताउन विशालले महत्वपुर्ण भूमिका खेलेका थिए ।
दुई मिडफिल्डर सुजल श्रेष्ठ र प्रकाश बुढाथोकीले चोटका कारण मैदान बाहिर रहेको अवस्थामा विशालले मनाङको मिडफिल्ड धानेका थिए । दुई खेलाडी अभावमा विशालले मनाङलाई कुनै समस्या हुन दिएनन् ।
जारी लिगमा ९४० मिनेट मैदानमा बिताएका विशालले दुई गोल समेत गरेका छन् । त्यसैले विशाल उत्कृष्ट मिडफिल्डरको मुख्य दाबेदार खेलाडी हुन् ।
उत्कृष्ट मिडफिल्डर पुरस्कारका लागि विशाललाई मनाङकै हेमन गुरुङले पछ्याईरहेका छन् । लिगमा दुई पटक म्यान अफ दि म्याच चुनिएका हेमनको एक गोल रहेको छ ।
फरवार्ड: अन्जन विष्ट
राष्ट्रिय टिमका नियमित सदस्य अन्जन विष्ट यस पटकको लिगमा निकै लयमा देखिएका छन् । पहिलो पटक लिग खेलिरहेका अन्जनले मनाङको च्याम्पियन यात्रामा मुख्य भूमिका खेले ।
लिगको पहिलो अनुभवमै अन्जनले आफुलाई उत्कृष्ट स्ट्राइकर भएको प्रमाणित गरे । जारी लिगमा राष्ट्रिय टिमका अन्य नियमित स्ट्राइकरले आफुलाई लयमा राख्न नसक्दा अन्जनले भने उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।
लिगको १२ औं चरणका सबै खेलमा पुरै समय मैदान बिताउने अन्जन एक्लो राष्ट्रिय टोलीका स्ट्राइकर हुन् । जारी लिगमा अन्जनले ५ गोल समेत गरिसकेका छन् । त्यसैले उत्कृष्ट स्ट्राइकरको पुरस्कारका लागि अन्जन मुख्य प्रतिस्पर्धी हुन् ।
उत्कृष्ट फरवार्ड पुरस्कारका लागि मनाङकै विदेशी खेलाडी आफिज ओलावालेले अन्जनलाई पछ्याईरहेका छन् । ओलावालेले लिगका ७ गोल गरिसकेका छन् ।
प्रशिक्षक : सल्यान खड्गी
पहिलो पटक 'ए' डिभिजन लिग हेरिरहेका संकटाका प्रशिक्षक सल्यान खड्गीले पहिलो सहभागीता मै आफुलाई प्रमाणित गर्न सफल भए ।
संकटाले लिगमा ४ देखि ५ औं स्थानमा रहने लक्ष्य बनाएको थियो । तर, प्रशिक्षक खड्कीले संकटालाई उपविजेता नै बनाउन सफल भए । जारी लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेको संकटा मनाङ र आर्मीसंग मात्र पराजित भयो । लिगको १२ औं चरणमा संकटाले थ्री स्टारलाई हराएर आफुलाई उपविजेताको हकदार बनाएको थियो ।
पुर्व 'ए' डिभिजन खेलाडी समेत रहेका सल्यान 'वि' लाइसेन्स प्राप्त प्रशिक्षक हुन् । तर, सल्यानले 'ए' लाइसेन्स लिएका प्रशिक्षकहरुलाई मात खुवाए । त्यसैले उत्कृष्ट प्रशिक्षक पुरस्कारका लागि संकटाका सल्यान दाबेदार प्रशिक्षक हुन् ।
यस पुरस्कारका लागि सल्यानलाई च्याम्पियन मनाङका सुमन श्रेष्ठले पनि दाबेदार प्रस्तुत गरेका छन् । यद्दपी संकटासंग उपलब्ध खेलाडी र सिमित स्रोतका आधारमा हेर्ने हो भने सुमन भन्दा सल्यान अघि देखिन्छन् ।