काठमाडौं । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा सिग्नेचर मनाङ मर्स्याङ्दी क्लबले लगातार १२ औं जित निकालेको छ ।
बुधबार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई २ - १ गोल अन्तरले हराउँदै च्याम्पियन बनिसकेको मनाङले लिगमा अपराजित यात्रा कायम राखेको हो ।
हल्चोकस्थित एपीएफ क्लबको मैदानमा मनाङको अपराजित यात्रामा आफिज ओलावाले र विशाल राईले एक एक गोल गरे । हिमालयन शेर्पाका विश्वास श्रेष्ठले एक गोल गरे ।
पहिलो हाफ १ - १ गोलको बराबरीमा सकिएको खेलमा सुरुवाती अग्रता पनि मनाङले नै बनाएको थियो । खेलको ३६ औं मिनेटमा ओलावालेले गोल गर्दै मनाङलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ४५ औं मिनेटमा विश्वास श्रेष्ठले गोल गर्दै हिमालयन शेर्पालाई खेलमा फर्काएका थिए ।
दोस्रो हाफमा विशालले गोल गर्दै मनाङलाई महत्वपूर्ण ३ अंक दिलाए । खेलको ६३ औं मिनेटमा विशालले गोल गर्दै मनाङलाई २ - १ को जित दिलाए ।
जितसंगै मनाङले १२ खेलबाट ३६ अंक जोडेको छ । मनाङले लिगको उपाधि भने दुई खेल अगाबै जितिसकेको छ । हिमालयन शेर्पाविरुद्धको जितसंगै मनाङले लिगमा एक खेल बाँकी रहदा ८ अंकको अग्रता समेत बनाएको छ । दोस्रो स्थानको संकटाको २८ अंक छ ।
पराजित हिमालयन शेर्पा ११ अंक सहित तालिकाको सातौं स्थानमा छ ।