काठमाडौं । बागमती प्रदेशले अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी दर्ता खुल्ला गरेको छ ।
प्रदेश खेलकुद विकास परिषद् बागमतीले आफु अन्तर्गतका जिल्ला खेलकुद विकास समितिलाई पत्र लेख्दै खेलाडी दर्ता गराउन लगाएको हो ।
बागमती प्रदेशले पहिलो अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता फागुन २४ गतेदेखि ३० सम्म आयोजना गर्दैछ ।
प्रदेशको टिम तयार गर्न पहिलो चरणमा एथलेटिक्स, फुटबल, भलिबल, क्रिकेट, कराँते, तेक्वान्दो, बक्सिङ, ब्याडमिन्टन, पौडी खेलका लागि खेलाडी दर्ता सुरु भएको प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेश सदस्य सचिव सूर्यलाल भण्डारीले बताएका छन् ।
एसियन, साउथ एसियन तथा नवौं राष्ट्रिय खेलकुदमा बागमती प्रदेशबाट सहभागी खेलाडी, पछिल्ला दुई राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा बागमती प्रदेशबाट सहभागि खेलाडीले नाम दर्ता गर्न सक्नेछन् ।
यस्तै, प्रथम तथा दोस्रो बागमती प्रदेश खेलकुदमा पदक प्राप्त खेलाडी, सम्बन्धित राष्ट्रिय खेल संघले आयोजना गरेको पछिल्लो राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशबाट पदक प्राप्त खेलाडी र विभागीय टिमबाट करार सम्झौता समाप्त भएर बागमती प्रदेशबाट खेल्न इच्छुक खेलाडीले सहभागीता जनाउन पाउने सदस्य सचिव भण्डारीले जनाएका छन् ।
सिनियर खेलकुद प्रतियोगिता भएकाले सम्बन्धित खेलको अन्तराष्ट्रिय नियमानुसार उमेर हद लागु हुने परिषद्ले जनाएको छ । पहिलो पटक हुन लागेको अन्तर प्रदेश स्तरीय राष्ट्रिय प्रतियोगिता बागमती प्रदेशमा आयोजना हुदैछ ।
संघले हरेक दुई वर्षमा आयोजना गर्ने वृहत राष्ट्रिय खेलकुद प्रतियोगिताको ग्यापमा अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने सातै प्रदेशले निर्णय गरेका थिए । सोही अनुसार पहिलो संस्करण बागमती प्रदेशले आयोजना गर्न लागेको हो ।
यसअघि प्रदेश स्तरीय खेलकुद प्रतियोगिताका दुई संस्करण सफलतापूर्वक आयोजना गरेको बागमतीले पहिलो प्रदेश स्तरीय राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनको जिम्मेवारी लिएको छ । यसले स्थानीय, जिल्ला र प्रदेश स्तरमा खेल र खेलाडीको वृहत्तर विकासमा पुग्ने विश्वास लिईएको छ ।
यस्तो छ, खेल इभेन्ट र खेलाडी दर्ता सख्याः