काठमाडौं । नवप्रवेशी ए डिभिजन क्लब च्यासल युथलाई सहिद स्मारक लिगको शीर्ष ६ भित्र पर्न गाह्रो देखिएको छ । कमजोर प्रतिद्वन्दी सरस्वती युथ क्लबसंग पराजित भएसंगै च्यासलको शीर्ष ६ भित्र पर्न सम्भावना कमजोर बनेको हो । लिगको बाह्रौ चरणको खेलमा च्यासल क्लबले सरस्वतीसंग अप्रत्यासित २–१ को हार ब्यहोर्यो ।
च्यासल १२ खेलबाट १५ अंक सहित आठौ स्थानमा छ । च्यासल शीर्ष ६ भित्र पर्न अन्तिम खेलको जितले मात्र पुग्ने छैन, हिमालयन शेर्पा र विभागीय टिम एपीएफको हारको कामना समेत गर्नुपर्नेछ । च्यासलले लिगको अन्तिम खेलमा जावलाखेलसंग खेल्नेछ ।
लिगमा छैटौ स्थान सम्म पुग्ने टोलीलाई पुरस्कारको व्यवस्था गरिएको छ । छैटौ स्थानको टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ र मोफसलका प्रतियोगितामा विशेष सहभागिताको मौका मिल्नेछ ।
‘स्ट्राईकर नहुदाँ समस्या देखियो ।’ निराश बनेका प्रशिक्षक राजुकाजी शाक्यले भने, ‘पछिल्लो नजिताले शीर्ष ६ भित्र पर्न गाह्रो देखियो ।’
खेलबारे उनको धारणा थियो, ‘गोलकिपरबाट ठुलो गल्ती भयो । पहिलो गोलनै खेलको टर्निङ पोईन्ट बन्यो । पाएको अवसर समेत गुमायौ ।’
घरेलु फुटबलका ठुला स्टार बिमल घर्तिमगर देखि घरेलु लिगका सर्वाधिक गोल गर्ने खेलाडी सन्तोष शाहुखल टिममा नभएका होईनन् । दुवै खेलाडीले खेल दौरान क्लब छाडेर बिदेश लागे ।
बिमल युरोपमा टे«निङ गर्न भन्दै बेल्जियम लागे, सन्तोष पारिवारिक कारण देखाउँदै जापान फर्किए । लयमा देखिन संघर्षरत च्यासलले लिग अवधिभर आफुलाई बलियो रुपमा प्रस्तुत गर्नै सकेन ।
ए डिभिजनको नवप्रवेशी च्यासलले ५ बर्षपछि सुरु भएको शीर्ष डिभिजनको लिगका लागि राम्रो टिम तयार बनाएको थियो ।
मुख्य प्रशिक्षक राजुकाजी शाक्यलाई अनुबन्धन गरेको ललितपुरे क्लबले प्लेईङ सेटमा स्टार खेलाडीलाई राखेको थियो । राष्ट्रिय फुटबल टिममा लामो समय योगदान गरेका सन्तोष शाहुखलसंगै एन्फा एकेडेमीबाट उत्पादित राम्रा खेलाडीको बाहुल्यता रहेको थियो ।
च्यासलले युवा स्टार विमल घर्तिमगर, हेमन्त थापा मगर, देबेन्द्र तामाङ, अमिर श्रेष्ठ, सन्जोक राई, विश्व अधिकारी, गौरव बुढाथोकी, बिक्रम लिम्बु, दिनेश थापामगर जस्ता घरेलु फुटबलमा चलेका अनुहारलाई समावेश गरेको थियो ।
तर खेलाडीले नाम अनुसारको प्रर्दशन गर्न सकेनन्, सो कुरा प्रशिक्षक शाक्य आफैपनि स्विकार्छन् ।
लिगको पहिलो सहभागितामा उत्कृष्ट नतिजा निकाल्ने लक्ष्य राखेको च्यासललाई अन्तिम समयमा आएर शीर्ष ६ भित्र पर्न समेत शकस देखिएको छ ।