काठमाडौं । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा च्यासल युथ क्लब पराजित भएको छ । मंगलबार भएको खेलमा च्यासल सरस्वती युथ क्लबसंग २ - १ गोल अन्तरले पराजित भएको हो ।
एन्फा कप्लेक्समा सुरुवाती अग्रता जोगाउन नसक्दा च्यासलले हार व्यहोर्नुपर्यो । सरस्वतीलाई जित दिलाउन मनिस थापा र फ्रान्सिसले एक एक गोल गरे । च्यासलका सजिन थापा मगरले एक गोल गरेपनि टोलीलाई जित दिलाउन सकेनन् ।
खेलको १४ औं मिनेटमा सरस्वतीका किपर प्रदीप भण्डारीले क्लियर गरेको बल सजिनलाई लागेर गोल हुँदा च्यासलले सुरुवाती अग्रता बनाएको थियो । तर, दोस्रो हाफमा च्यासल खेलमा फर्कियो ।

खेलको ८६ औं मिनेटमा मनिसले ३५ यार्डबाट हानेको बल च्यासलका किपर दिनेश थापा मगरले समाप्त खोज्दा ड्रफ हुँदै गोल हुँदा सरस्वती खेलमा फर्किएको थियो । त्यसपछि खेलको इन्जुरी समयमा फ्रान्सिसले गोल गर्दै सरस्वतीलाई २ - १ को महत्वपूर्ण जित दिलाए ।
हारसंगै च्यासलले १२ खेलबाट १५ अंक जोडेको छ । च्यासल लिगको आठौं स्थानमा छ । १३ अंक जोडेको सरस्वती लिगको नवौं स्थानमा उक्लिएको छ ।
खेलमा सरस्वतीका किपर प्रदीप भण्डारी म्यान अफ दि म्याच चुनिए ।
सरस्वतीसंग पराजित भएपछि च्यासलका प्रशिक्षक राजु काजी शाक्यले पाएको मौकामा गोल गर्न नसक्दा पराजित भएको बताए ।
'लिगमा हामीले राम्रो खेलेपनि स्ट्राइक राम्रो भएन । यो हारले सुपर सिक्स पुग्न अप्ठेरो भएको छ,' प्रशिक्षक शाक्यले भने, 'हामीले पाएको मौका गुमाउनु दुर्भाग्य रह्यो ।' यस्तै प्रशिक्षक शाक्यले किपरले गल्ती गरेको बताए ।
सरस्वतीका प्रशिक्षक प्रदीप नेपालले च्यासलविरुद्धको नतिजाले खुसी रहेको बताए । पाएको मौकामा गोल गर्दा जित निक्लेको समेत उनले बताए ।