काठमाडौं । पाँचौं संस्करणको ललितपुर महानगरपालिका अन्तर वडा टेबलटेनिस प्रतियोगिता मंगलबारदेखि हुने भएको छ ।
ललितपुर महानगरपालिका वडा नम्बर ११, ललितपुर जिल्ला टेबलटेनिस संघ, खोल्चा पुखु खेलकुद उप समिति र खोल्चा पोखरी टोल सुधार समितिको संयुक्त आयोजनामा हुने प्रतियोगिता मंगलबारबाट सुरु हुने भएको हो ।
प्र्रतियोगितामा विभिन्न १६ स्पर्धामा प्रतिस्पर्धा हुने पाँचौं मेयर कप मूल समारोह समितिका संयोजक नदिमरत्न शाक्यले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
प्रतियोगितामा ललितपुर महानगरपालिकामा रहेका २९ वडाका खेलाडीले मात्र खेल्न पाउने छन् ।
अनुमानित २५ लाख खर्च हुने बताइएको प्रतियोगिताको कुल पुरस्कार राशी ३ लाख ५० हजार रुपैयाँ रहेको छ ।
वडा नम्बर ११ ले १० लाख सहयोग गर्ने आयोजकले जनाएको छ । मंसिर १६ गतेसम्म चल्ने रात्रीकालिन प्रतियोगिता वडा ११ स्थित तल्लो चाकुपाट खोल्चा पोखरी टोलमा हुनेछ ।