पोखरा । पोखरामा एन्ड्युरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता हुने भएको छ ।
माउन्टेन बाइक कम्पनी डन टिल डस्कको आयोजनामा यहि मंसिर ७ देखि पोखरा महानगरपालिका वडा नम्बर १३ को आर्बा–बिजय डाँडामा प्रतियोगिता हुन लागेको हो ।
तीन दिनसम्म हुने प्रतियोगितामा विभिन्न ११ देशका खेलाडीले सहभागिता जनाउने आयोजकले जनाएको छ । प्रतियोगिताका रेस डाइरेक्टर सुनिलचन्द्र शर्माले नेपालसहित ११ देशका ८८ जना प्रतिस्पर्धीले सहभागि जनाउने जानकारी दिए ।
उनका अनुसार प्रतियोगितामा इलिट पुरुषतर्फ जुनियर १२–१८ वर्ष, मास्टर्स ‘क’ ३०–३९ वर्ष, मास्टर्स ‘ख’ ४०–४९ वर्ष, भेट्रान ५० वर्ष माथि, महिला ओपन तथा इ–बाइक गरि ७ विधामा प्रतिस्पर्धा हुनेछन् ।
खेलकुद र पर्यटनलाई टेवा पुराउनका लागि प्रतियोगिता आयोजना गरिएको डन टिल डस्कका प्रवन्ध निर्देशक छिमी उक्रेन गुरुङले जनाए । सन् २०२० देखि तयारी गर्दै उक्त क्षेत्रमा संरचना बनाउन ५० लाख रुपैँया लगानी भैसकेको र थप २० लाख लगानी लाग्ने गुरुङको भनाई छ । साथै उक्त क्षेत्रमा प्रतियोगितालाई निरन्तरता दिने उनले बताए ।
प्रतियोगिताको जानकारी दिने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा पोखरा महानगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष किरण बरालले पर्यटन प्रबर्द्धनका लागि आर्बालाई चुनिएकोमा आभार व्यक्त गरे । प्रतियोगितालाई निरन्तरता दिन आग्रह गर्दै वडाध्यक्ष बरालले महानगरबाट पनि सहयोगको लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।
त्यस्तै कार्यक्रममा कास्की जिल्ला साइक्लिङ संघका अध्यक्ष शंकर भण्डारीले स्वास्थ्यका लागि खेलकुद आवश्यक भएकाले विभिन्न खेलकुद प्रतियोगिता भइरहनुपर्ने र यसलाई निरन्तरतालाई जोड दिनुपर्ने बताए । प्रतियोगितामा कास्की साइक्लिङ संघले साथ र सहयोग गर्ने उनले प्रतिवद्धता जनाए ।
तीन दिन हुने प्रतियोगितामा मंसिर ७ र ८ गते अभ्यास खेल हुनेछ भने ९ गते प्रतियोगिता हुनेछ । प्रतियोगिता समुन्द्री सतहबाट १४ सय मिटर उचाँईमा रहेको आर्वा–बिजय डाँडामा हुनेछ ।
एन्ड्युरो प्रतियोगिताले आगामी दिनहरुमा विश्वभर ठुलो संख्यामा माउन्टेन बाइकिङ प्रेमीहरु आकर्षिक भई पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा आयोजकको रहेको छ ।