काठमाडौं । तेश्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता कात्तिक १८ गतेदेखि हुने भएको छ ।
वीर गणेशमान सिंह फउन्डेसन तथा वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी गराएको हो ।
प्रतियोगितामा सिनियर, भेट्रान र जुनियरमा गरी जम्मा २३ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक कमिटीका संयोजक सन्जिव तुलाधरले जानकारी गराए । सिनियरमा ४, भेट्रानमा ७ र जुनियरमा १२ स्पर्धामा खेल हुनेछ ।
सिनियर र भेट्रानमा गरी जम्मा ९ लाख ५ हजार नगद पुरस्कार रहेको कमिटीका राजन खत्रीले जानकारी दिए ।
उनका अनुसार गत संस्करण भन्दा पुरस्कार राशीमा २ लाख ५ हजार बृद्धि गरिएको छ । जुनियरमा भने प्रोत्साहन स्वरुप गिफ्ट ह्याम्पर प्रदान गरिने छ ।
नेपाल टेनिस संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिता सञ्चालन गर्न करिब ३५ लाख रुपैयाँ खर्च हुने बताइएको छ ।
आठ दिने प्रतियोगिताका खेलहरु सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुनेछ ।