काठमाडौं । विश्व प्रसिद्ध एफ वान रेसिङ्गको विद्यालयस्तर प्रतियोगिता 'एफ वान इन स्कुल्स' इन नेपालको उपाधि टिम द्रिष्टिले जितेको छ ।
शनिबार सम्पन्न प्रतियोगितामा मोडल कार डिजाइन, रेसिङ्ग, टिम वोर्क र प्रस्तुतीका आधारमा अन्य पाँच टिमलाई पछि पार्दै टिम द्रिष्टि विजेता बनेको हो ।
विजेता टिम द्रिष्टिमा काठमाडौँ इन्जिनियरिङ्ग कलेजका आस्था श्रेष्ठ (टिम लिडर) र कुशन श्रेष्ठ, थापाथली क्याम्पसका बिपना भुजेल, रोहन श्रेष्ठ र संजोग सिलवाल र यूनाइटेड एकेडेमीकी नलिसा शाक्य रहेका थिए ।
उप–विजेता टिम द बोल्ट्जमा काठमाडौँ इन्जिनियरिङ्ग कलेजका याङचेन लामा, भूमि कायस्थ, रिजुल मास्के, प्रसङ्ग बराल र आयुष पन्त समावेश थिए ।
विजेता टिमले सिल्ड, मेडल सहित ३० हजार रुपैयाँ प्राप्त गर्यो । उपविजेता बनेको द बोल्ट्जले २० हजार रुपैयाँमा चित्त बुझायो ।
सातदोबाटोस्थित अन्तराष्ट्रिय खेलकुद परिसरमा भएको फाइनलमा राष्ट्रिय खेलकुद परिषद् राखेपका उपाध्यक्ष शिव कोइराला र सदस्य सचिव टंकलाल घिसिङ सहभागी थिए । दुवैले प्रतियोगिताको डेमो खेलमा भाग लिएका थिए ।
प्रतियोगिताका विजेतालाई काठमाडौँ इन्जिनियरिङ्ग कलेजका अध्यक्ष हिद्रेन्द मान प्रधान, नासा नेपालका अध्यक्ष दशरथ रिसाल, कार्यकारी निर्देशक गोबिन्द भट्टराई लगायतका पदाधिकारीले पुरस्कृत गरेका थिए ।
नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा नेपाल)को आयोजना र काठमाडौँ इन्जिनियरिङ्ग कलेजको समन्वयमा भएको प्रतियोगितामा काठमाडौँ इन्जिनियरिङ्ग कलेज, थापाथली क्याम्पस, एडभान्स कलेज, नागर्जुना लगायतका कलेजबाट विद्यार्थीहरुको ६ टिम नेश्नल फाइनल राउण्डसम्म पुगेका थिए ।
जसमा द्रिष्टि, द बोल्ट्ज, फोटन, इन्फर्नो, फल्यास् र ड्रागन ड्रिटर का कुल ३३ जना इन्जिनियरिङ्गका विद्यार्थीले अन्तिम राउण्डमा प्रतिस्पर्धा गरेका थिए ।