काठमाडौं । तेश्रो संस्करणको अल नेपाल अन्तर वडा टेबलटेनिस प्रतियोगिता कात्तिक १ गते सुरु हुने भएको छ । स्पिन इभेन्ट प्रालिको आयोजनामा हुने प्रतियोगिता कात्तिक ४ गतेसम्म चल्ने भएको हो ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिईएको हो ।
प्रतियोगितालाई खेल प्रेमी सुमन खड्गीले मुख्य प्रायोजकको रुपमा सहकार्य गर्ने भएका छन् । मुख्य प्रायोजकको रुपमा रहने खड्गी र आयोजक स्पिनका अध्यक्ष सुमन शाक्यले सम्झौता पत्रमा बिहीबारनै हस्ताक्षर गरेका छन् ।
प्रतियोगिताका सम्पुर्ण खेल सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेको कराँते हलमा हुनेछ ।
प्रतियोगितामा विभिन्न १० स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक स्पिनका सचिव ज्याकी महर्जनले जनाएका छन् ।
पुरुष महिला सिंगल्स र टिम, यु–१६ ब्वाइज गल्स सिंगल्स, पुरुष भेट्रान ४० वर्षमाथि, ५० वर्षमाथि र ६० वर्षमाथि तथा महिला भेट्रान ४० वर्षमाथि सिंगल्समा खेल हुने छ । आयोजकका अनुसार प्रतियोगितामा करिब ४ सय ५० खेलाडीको सहभागिता रहने छ ।
टिम इभेन्ट बाहेक सबै स्पर्धामा नगद पुरस्कार राखिएको छ । पुरुष महिला सिंगल्समा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः ३० हजार, १५ हजार र ७ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्ने छन् । बाँकीमा पहिलो हुनेले १० हजार, दोश्रोले ५ हजार र तेश्रोले २ हजार ५ सय नगद पुरस्कार हात पार्नेछन् ।
प्रतियोगिताको प्रायोजकमा ललितपुर महानगरपालिका, ललितपुर जिल्ला खेलकुद विकास समिति र गोदावरी नगरपालिका रहेका छन् । आधिकारिक बल पार्टनरमा डीएचएस तथा पोशाक पार्टनरमा गोर्खा एथलेटिक्स छन् ।
अखिल नेपाल टेबलटेनिस संघको तत्वावधानमा हुन लागेको प्रतियोगिता सञ्चालन गर्न करिब १५ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।