काठमाडौं । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले विभागीय टिम त्रिभुवन आर्मी क्लबले सहज जित निकालेको छ । शुक्रबार भएको खेलमा आर्मीले १० खेलाडीमा सिमित सरस्वती युथ क्लबलाई ४ - ० गोल अन्तरले हराएको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा आर्मीलाई जित दिलाउन कप्तान भरत खवासले २ गोल गरे । यस्तै नवयुग श्रेष्ठले एक गोल गर्दा आर्मीले एक आत्मघाती गोल पाएको थियो ।

सरस्वतीविरुद्ध खेलको छैटौं मिनेटमा नवयुगले दिपक गुरुङको पासमा गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाए । खेलको ३८ औं मिनेटमा सुमन लामाले रातो कार्ड पाएपछि सरस्वती १० खेलाडीमा समेटिएको थियो । जसको फाइदा आर्मीले उठायो ।
खेलको ३० औं मिनेटमा कप्तान भरतले पेनाल्टीमा गोल गर्दै आर्मीलाई २ - ० को अग्रता दिलाए । खेलको ६२ औं मिनेटमा कप्तान भरतले हेडबाट व्यक्तिगत दोस्रो गोल गर्दा आर्मी ३ - ० ले अघि रह्यो ।

त्यसपछि खेलको ८० औं मिनेटमा एक आत्मघाती गोलको उपहार पाउदा आर्मीले ४ - ० को सहज जित निकाल्यो । आर्मीका कप्तान भरतले क्रस गरेको बल सरस्वतीका ओलुसोला इब्राहिमलाई लाग्दै गोल भएको थियो ।

खेलमा आर्मीका कप्तान भरत म्यान अफ दि म्याच चुनिए ।
सरस्वतीविरुद्धको जितसंगै आर्मीले ११ खेलबाट २१ अंक जोडेको छ । आर्मी लिगको चौथो स्थानमा छ । १० अंक जोडेको सरस्वती दशौं स्थानमा छ ।