काठमाडौं । गोड स्पिन टीटी क्लबका राजेन्द्र कपाली र ज्ञान भैरव टीटी क्लबकी इन्दिरा पराजुलीले तेश्रो नेपाल एपीएम टेबलटेनिस टेनिस प्रतियोगितामा स्वर्ण जितेका छन् ।
बुधबार भेट्रान सिंगल्सको पुरुष ५० वर्षमाथि राजेन्द्र तथा महिला ४० वर्षमाथि इन्दिरा पहिलो भएका हुन् ।
नेपाल एपीएम प्रालिद्वारा आयोजित प्रतियोगिताको फाइनलमा राजेन्द्रले खोल्छा पुखु टीटी क्लबका नदिमरत्न शाक्यलाई ११–५, ११–२ र ११–५ को सोझो सेटमा पराजित गरे । कान्तिपुर भ्यालीका निशान प्रधान र खोल्छाका प्रकाश धाक्वा तेश्रो भए ।
भैसेपाटीस्थित आयोजकको हलमा भएको महिला फाइनलमा इन्दिराले आफ्नै क्लबकी सम्झना पोखरेललाई ११–३, ५–११, ११–६ र ११–४ को सेटमा हराइन् । भेडासिंहकी हीरा नकर्मी र जापानकी इमी योसी तेश्रो बने ।
भेट्रान ६० वर्षमाथि पुरुष सिंगल्समा गोड स्पिनका शेखर श्रेष्ठले फाइनलमा प्लाटिनमका पूर्णशंकर श्रेष्ठलाई ११–१, ११–८ र ११–३ को सोझो सेटमा पाखा लगाउदै पहिलो स्थान हात पारे ।
इकाछेनका शरदमान श्रेष्ठ र गोड स्पिनका युवराज खाती तेश्रो बने ।
शनिबारसम्म चल्ने प्रतियोगितामा नेपाल, चीन, दक्षिण कोरिया, जापान र भारतबाट करिब ३ सय खेलाडीको सहभागिता रहेको छ ।