काठमाडौं । एसियन गेम्सको पुरुष क्रिकेटमा भारतले नेपाललाई २ सय ३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
क्वार्टरफाइनलको खेलमा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ४ विकेट गुमाएर २ सय २ रन बनाएको छ ।
भारतका अन्य ब्याट्सम्यान खासै चल्न नसकेपछि यशस्वी जयसवालले उत्कृष्ट प्रर्दशन गरे । जयसवालले शतकीय इनिङ्स खेले । जयसवालले ४८ बलमा नेपालविरुद्ध शतक प्रहार गरे । उनले ८ चौका र ७ छक्काको मदतले शतक पुरा गरेका हुन् ।
कप्तान ऋतुराज गायकव २५ रनमा आउट भएको खेलमा तिलक वर्मा २ र जितेश शर्मा ५ रनमा पोविलियन फर्किएका थिए । रिंकु सिंहले विस्फोटक ब्याटिङ गर्दै ३७ र शिवम दुवेले २५ रन बनाए ।
नेपालका लागि दिपेन्द्र सिंह ऐरीले २ तथा सोमपाल कामी र सन्दीप लामिछानेले समान एक एक विकेट हात पारे ।
भारतले युवा क्रिकेट टिमलाई एसियन गेम्समा मौका दिएको छ । नियमित टिम वान डे विश्वकप क्रिकेटको तयारीमा रहदाँ युवा टिम एसियन गेम्स खेल्न चीन आएको हो ।
सेमिफाइनल प्रवेशकालागि दुवै टिमबीच प्रतिस्पर्धा भैरहेको छ ।
नेपाल समूह चरण पार गर्दै क्वार्टरफाइनल प्रवेश गरेको हो । नेपालले समूह चरणमा भियतनाम र माल्दिभ्सलाई हराएको हो । भारतले सिधै प्रि क्वार्टरफाइनलमा स्थान बनाएको हो ।
नेपाली कप्तान रोहित पौडेलले ड्रमा भारतलाई प्रतिद्धन्दी छानेका हुन् ।