काठमाडौं । सिग्नेचर मनाङ मर्स्याङ्दी क्लबले पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको उपाधि जितेको छ । बिहिबार भएको खेलमा सीएमजी संकटा क्लबलाई ३ – १ गोल अन्तरले पराजित गर्दै मनाङ च्याम्पियन बनेको हो ।
दुई खेल बाँकी रहँदै मनाङले कीर्तिमानी आठौं पटक 'ए' डिभिजन लिग फुटबलको उपाधि जितेको छ । एन्फा कम्प्लेस सातदोबाटोमा उपाधि जित्न एक जित आवश्यकता रहेको खेलमा मनाङले संकटालाई पराजित गर्याे ।
मनाङलाई जित दिलाउन पुजन उपरकोटी र एडीलाजा सोमिडेले एक एक गोल गरे । मनाङले एक गोल आत्मघाती उपहार पाएको थियो । संकटाका सेड्रिक अबाले एक गोल फर्काए ।
मनाङले १७ औ मिनेटमा आत्मघाति गोलबाट अग्रता लिएको थियो । विशाल राईको कर्नर बललाई संकटाका गोलकिपर राजा बाबु थापाले पन्च गरेर बाहिर फाल्ने क्रम रोशन पहाडीले आत्मघाति गोल गर्न पुगे ।
दोस्रो गोल ८१ औ मिनेटमा सम्भव भयो । विशाल राईको कर्नरमा पुजन उपरकोटीले हेडमार्फत गोल गर्दैै मनाङलाई जितको नजिक पु¥याएका थिए । ८० औ मिनेटमा सुजल श्रेष्ठको स्थानमा मैदान छिरेका उनले पहिलो टचमै गोल गर्न सफल भए ।
८६ औ मिनेटमा बिशाल राईले उपलब्ध गराएको पासमा एडिलआजाले फ्रि हेडमार्फत गोल गर्दै मनाङलाई ३–० को स्थितीमा पु¥याए ।
खेल सकिन एक मिनेट बाँकी छदाँ एक्लो प्रयासमा सेड्रिक आबाले गोल गर्दै गोल अन्तरलाई घटाउने प्रयास गरे ।
खेलमा मनाङका हेमन गुरुङ म्यान अफ दि म्याच चुनिए ।
जितसंगै मनाङले ११ खेलबाट ३३ अंक जोडेको छ । अपराजित मनाङले अब दुई खेल खेल्न बाँकी छ । दोस्रो स्थानको संकटाको २५ अंक छ ।
मनाङले पहिलोपटक २०४३ सालमा 'ए' डिभिजन लिगको उपाधि जितेको थियो । मनाङपछि आरसिटीले ६ पटक 'ए' डिभिजन लिग जितेको छ ।