काठमाडौं । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा च्यासल युथ क्लब र एपीएफ क्लबले बराबरी खेल्दै अंक बाडेका छन् । बिहिबार भएको खेलमा च्यासल र एपीएफले १ - १ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा सुरुवाती अग्रता जोगाउन नसक्दा च्यासलले एपीएफसंग बराबरी खेलेको हो । खेलको ३० औं मिनेटमा सन्त बहादुर गुरुङले गोल गर्दै च्यासललाई अग्रता दिलाएका थिए । विश्व अधिकारीले प्रहार गरेको बल एपीएफका सन्तोष कुमार कटवालले गोल लाईनबाट क्लियर गरेका थिए । त्यही रिबाउण्ड बलमा सन्तले गोल गरेका थिए ।
च्यासलले सुरुवाती अग्रता बनाएपनि एपीएफले पहिलो हाफमै बराबरी गर्ने मौका पाएको थियो । तर, खेलको ४१ औं मिनेटमा एपीएफ पेनाल्टीमा गोल गर्न चुक्यो । एपीएफका हरि कार्कीलाई च्यासलका देबेन्द्र तामाङले फल गरेपछि प्राप्त पेनाल्टीमा एपीएफ गोल गर्न चुकेको हो । एपीएफका सुदिप शिख्राकारको प्रहार च्यासलका गोलकिपर दिनेश थापाले बिफल पारे ।
पहिलो हाफमा १ - ० ले पछि परेको एपीएफ दोस्रो हाफमा भने खेलमा फर्कियो । खेलको ५४ औं मिनेटमा श्याम कुमार नेपालीले गोल गर्दै एपीएफलाई हारबाट जोगाएका थिए । यस्तै खेलको ७७ औं मिनेटमा गौरव बुढाथोकीले दुई पहेलो कार्डसहित रातो कार्ड पाउदा च्यासल १० खेलाडीमा समेटिएको थियो । तर, एपीएफले च्यासल १० खेलाडीमा समेटिएको फाइदा उठाउन सकेन ।
खेलमा एपीएफका श्याम कुमार नेपाली म्यान अफ दि म्याच चुनिए ।
यो बराबरीसंगै एपीएफले १७ अंक बनाएको छ । च्यासलको १५ अंक भएको छ ।