काठमाडौं । पल्सर सहिद स्मारक ए डिभिजन लिगमा फ्रेन्ड्स क्लबले न्युरोड टिम एनआरटीसंग बराबरी खेलेको छ । एपीएफको हलचोक मैदानमा दुवै टोलीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।
४३ औं मिनेटमा एनआरटीले शुशिल लामाको गोलबाट अग्रता लिएको थियो । उनले प्रहार गरेको बल फ्रेन्ड्सका डिफेन्डरसंग ठोक्किएर गोलमा परिणत भएको थियो ।
खेलको ७८ औं मिनेटमा फ्रेन्ड्सले बराबरी गोल फर्कायो । असिम भुुषालले हेडमार्फत गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
सूरुवातबाटै फ्रेन्ड्सलाई दबाबमा राखेको एनआरटीले २१ औ मिनेटमा गोलको अवसर गुमाएको थियो । एनआरटीका बिरेन्द्र थापाको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो ।
२६ औ मिनेटमा एनआरटीका सकल रेग्मीको प्रहार फ्रेन्ड्सका गोल रक्षकले मुस्किलले बचाए । ५७ औ मिनेटमा एनआरटीका शुशील लामाको प्रहार फ्रेन्ड्सका गोलकिपरले सहजै बचाउ गरे । ६६ औ मिनेटमा एनआरटीले पेनाल्टीको अवसर गुमायो । सरोज योञ्जन लामाको प्रहार गालरक्षक देब लिम्बुले सहजै बचाएका थिए ।
यता, फ्रेन्ड्सले ३१ औ मिनेटमा डिबक्स भित्र पाएको बल सदुपयोग गर्न सकेन । फ्रेन्ड्सका विदेशी खेलाडी ओगोला ओ डोन्जोले प्रहार गरेको बल पोस्ट नजिकैबाट बाहिरियो । ४० औ मिनेटमा फ्रेन्ड्सका कप्तान सरोज योन्जनले डिबक्स नजिकैबाट प्रहार गरेको बल एनआरटीका गोल रक्षकले बचाएका थिए ।
५४ औ मिनेटमा फ्रेन्ड्सका जिवन गुरुङले गोलले अवसर गुमाए । उनले डिबक्स भित्र पाएको अवसर सदुपयोग गर्न नसक्दा बल पोस्ट नजिकैबाट बाहिरिएको थियो ।
बराबरीपछि एनआरटी ५ अंक सहित तालिकाको अन्तिममा यथावत रह्यो । ११ औ स्थानको फ्रेन्ड्सले ९ अंक जोड्यो ।