काठमाडौँ । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले जित निकालेको छ । बुधबार भएको खेलमा जावलाखेलले मछिन्द्र फुटबल क्लबलाई २ - १ गोल अन्तरले हराएको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा जावलाखेललाई जित दिलाउन अरुज सिंह र फोडे फोनानाले एक एक गोल गरे । मछिन्द्रका अल्बा आडेमोलाले एक गोल फर्काए ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५५ औं मिनेटमा अरुजले पेनाल्टीमा गोल गर्दै जावलाखेललाई सुरुवाती अग्रता दिलाए । मछिन्द्रका अन्जन देवकोटाले ह्याण्ड गरेपछि पाएको पेनाल्टीमा अरुजले सहजै गोल गरेका हुन् ।
यस्तै खेलको ६५ औं मिनेटमा फोनानाले सुमन डंगोलको पासमा गोल गर्दै जावलाखेललाई २ - ० को अग्रता दिलाए । त्यसपछि खेलको ९० औं मिनेटमा मछिन्द्रका आडेमोलाले गोल गर्दै खेल २ - १ मा ल्याए । त्यसपछि दुवै टोलीले थप गोल गर्न सकेनन् र खेल जावलाखेलले २ - १ ले आफ्नो बनायो ।
खेलमा जावलाखेलका अरुज म्यान अफ दि म्याच चुनिए ।
जितसंगै जावलाखेलले ११ अंक जोडेको छ । जावलाखेल नवौं स्थानमा छ । पराजित मछिन्द्रको ६ अंक छ । मछिन्द्र लिगको १२ औं स्थानमा छन् ।