काठमाडौं । सिग्नेचर मनाङ मर्स्याङ्दी क्लबले पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा लगातार दशौं जित निकालेको छ ।
आइतबार भएको खेलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई १ - ० गोल अन्तरले पराजित गर्दै मनाङले लगातार दशौं खेलमा जित निकालेको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा मनाङको अपराजित यात्रामा विदेशी खेलाडी आडेलाजा सोमिडे नायक बने । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५३ औं मिनेटमा सोमिडेले गोल गर्दै मनाङलाई ३ अंक दिलाए ।

सोमिडेले हेमन गुरुङको पासलाई सदुपयोग गरे । यस्तै खेलमा मनाङले अन्य गोलको अवसर सिर्जना गरेपनि गोल गर्न सकेनन् ।
मनाङविरुद्ध पुलिसले पनि गोल गर्ने मौका पाएको थियो । तर, सदुपयोग गर्न सकेनन् । खेलको ८२ औं मिनेटमा पुलिसले बराबरी गर्ने सुनौलो मौका गुमाएको थियो ।
अविशेख रिजालको पासमा किपर बिट भईसकेको अवस्थामा भरत साहले प्रहार गरेको बल आफ्नै टिमका खेलाडीलाई लागेर फर्कदा नजिकै रहेका मनाङका डिफेन्डर कमल श्रेष्ठले चलाखीपूर्ण तरिकाले बल बाहिर पठाईदिए ।

त्यसअघि खेलको ३६ औं मिनेटमा पुलिसका रबी पासवानले गोल गर्ने मौका पाएको पाएका थिए । तर, रबीको फितलो प्रहार मनाङका किपर विशाल श्रेष्ठले सहजै बचाए ।
खेलमा मनाङका डिफेन्डर तथा कप्तान बिराज महर्जन म्यान अफ दि म्याच चुनिए ।

जितसंगै मनाङले लिगको उपाधि जित्ने सम्भावना बलियो बनाएको छ । लिगको तीन खेल बाँकी रहदा मनाङले १० खेलबाट अपराजित रहदै ३० अंक जोडेको छ ।
शीर्ष स्थानको मनाङ दोस्रो स्थानको संकटा फुटबल क्लबभन्दा ५ अंकले अघि छ । संकटाको १० खेलबाट २५ अंक छ । अब मनाङले संकटाविरुद्धको खेल जित उपाधि आफ्नो बनाउनेछ ।
मनाङ र संकटाबीचको खेल पुस १२ गते हुनेछ ।मनाङसंग पराजित पुलिस १५ अंक सहित लिगको पाँचौ स्थानमा छ ।