काठमाडौं । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल अन्तर्गत अहिले नेपाल पुलिस क्लब र सिग्नेचर मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा पुलिस र मनाङले गोलरहित बराबरी खेलेका छन् ।
उपाधि होडको मनाङले खेलमा बल पोजिसनमा पकड जमाएपनि पुलिसविरुद्ध गोल गर्न सकेको छैन । यता, काउन्टर अट्याकलाई जोड दिएको पुलिसले पनि पाएको मौका सदुपयोग गर्न सकेको छैन् ।
खेलको ३६ औं मिनेटमा पुलिसका रबी पासवानले गोल गर्ने मौका पाएको पाएका थिए । तर, रबीको फितलो प्रहार मनाङका किपर विशालले सहजै बचाए ।
उपाधि होडको नजिक रहेको मनाङ प्रतियोगितामा शतप्रतिशत जित निकाल्ने एक्लो टोली हो । विभागीय टिम पुलिसलाई पराजित गर्दै अंक तालिकामा पाँच अंकको अग्रता लिने अवसर मनाङलाई प्राप्त छ ।
दशौँ चरणको खेलमा संकटा र थ्री स्टारको बराबरी खेल्दा त्यसको प्रत्यक्ष फाईदा मनाङलाई देखिएको छ । मनाङ २७ अंक सहित शीर्ष स्थानमा रहदाँ पुलिस १५ अंक सहित पाँचौ स्थानमा छ ।