काठमाडौं । पल्सर सहिद स्मारक ए डिभिजनको विभागीय डर्बीमा एपीएफले बाजी मारेको छ । लिगको दशाैँ चरणको प्रतिस्पर्धात्मक खेलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपीएफलाई जिताउन आशिष लामाले दुवै गोल गरे । ५२ औ मिनेटमा एकल प्रयासमा दुई डिफेन्डरलाई बिट गर्दै आशिष पहिलो गोल गर्न सफल भएका थिए ।
उनले दोस्रो गोल खेलको ८६ औ मिनेटमा गरे । श्याककुमार नेपालीको पासलाई सदुपयोग गर्दै उनले तीन डिफेन्डरलाई छलाउदै गोल गर्न सफल भएका थिए ।
लगत्तै आर्मीका नवयुग श्रेष्ठले हेडिङ गोल गर्दै टोलीलाई खेलमा फर्काउने कोशिश गरेपनि त्यो सफल हुन सकेन ।
दोस्रो हाफमा सुधारिएको खेल प्रर्दशन गर्दै एपीएफले जित निकालेको हो । ७६ औ मिनेटमा श्यामकुमार नेपालीले डिबक्सभित्रबाट प्रहार गरेको बल आर्मीका गोलकिपर बिकेश कुथुले सहजै बचाएका थिए । लगत्तै रुप बहादुर लामाको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो ।

आर्मीले पहिलो हाफमा एपीएफलाई दबाबमा राखेपनि गोल गर्न सकेन । आठौ मिनेटमा आर्मीका टंक बस्नेतले डिबक्स बाहिरबाट हानेको बल दोस्रो बार हुदै बाहिरिएको थियो । २३ औ मिनेटमा जितेन्द्र कार्कीले मैदानको बीच भागबाट हानेको फ्रिकिकमा कप्तान भरत खवासको हेड बल पोस्ट नजिकैबाट बाहिरिएको थियो ।
जितसंगै एपीएफले अंक तालिकामा छलाङ मारेको छ । एपीएफले १० खेलबाट १६ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा उक्लिएको छ ।
आर्मी १८ अंक सहित चौथो स्थानमा यथावत छ ।