काठमाडौं । पल्सर सहिद स्मारक ए डिभिजन लिगको ललितपुरे डर्बीमा रुस्लान थ्री स्टार क्लबले बराबरी खेल्दै अंक बाँडेको छ । लिगको दशौ चरण अन्तर्गत शनिबार भएको खेलमा थ्री स्टारले अर्को ललितपुरे क्लब च्यासल युथसंग गोल रहित बराबरी खेलेको हो ।
एपीएफको हलचोक मैदानमा अंक बाँड्न परेपछि थ्री स्टारको उपाधि यात्रा कठिन मोडमा पुगेको छ ।
थ्री स्टारको १० खेलबाट २३ अंक भएको छ । तेस्रो स्थानको थ्री स्टार शीर्ष स्थानको मनाङ भन्दा ४ अंकले पछाडी छ । छैटौ स्थानको च्यासलले १४ अंक जोडेको छ ।
थ्री स्टार आफ्ना मुख्य खेलाडी निराजन खड्का, रन्जन विष्ट र सुनिल वल बिनै मैदान उत्रिएको थियो । निराजन र रन्जनले दोहोरो पहेलो कार्डका कारण र सुनिलले चोटका कारण ललितपुरे डर्बी गुमाएका थिए ।
हलचोक मैदानमा दुवै टोलीले प्राप्त अवसरलाई गोलमा परिणत गर्न सकेनन् । सातौ मिनेटमा रन्जित धिमालको फ्रिकिकमा बुद्व चेम्जोङको हेड बल च्यासलका किपर दिनेश थापाले उत्कृष्ट बचाउ गरे । ४१ औ मिनेटमा अमिर श्रेष्ठको डिबक्स नजिकैबाट प्रहार गरेको फ्रिकिक थ्री स्टारका एलन न्यौपानेले उत्कृष्ट बचाउ गरे ।
यता, १३ औ मिनेटमा च्यासलका सजिन थापा वान भर्सेस वानमा गोल गर्न चुके । ५६ औ मिनेटमा च्यासलका हेमन्त थापा मगरले डिबक्स बाहिरबाट हानेको बल दोस्रो बार नजिकैबाट बाहिरिएको थियो ।
खेल सकिन १० मिनेट बाँकी छदाँ सुनिल राईको पासमा मिक्छेन तामाङको प्रहार आकासिएको थियो ।