काठमाडौं । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले रुस्लान थ्री स्टार क्लब र भ्याली च्यासल युथ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।
हल्चोकस्थित एपीएफ मैदानमा जारी खेलको पहिलो हाफ सकिदा थ्री स्टार र च्यासलले गोलरहित बराबरी खेलेका छन् ।
बल पोजिसनमा पकड जमाएपनि थ्री स्टारले गोल गर्न सकेनन् । खेलको सातौं मिनेटमा बुद्ध चेम्जोङको हेड प्रहार च्यासलका किपर दिनेश थापाले बचाए ।
यस्तै खेलको १३ औं मिनेटमा च्यासल सजिन थापाले वान भर्सेस वानमा गोल गर्न सकेनन् । यस्तै खेलको ४१ औं मिनेटमा आमिर श्रेष्ठको फ्रिकिक थ्री स्टारका एलेन न्यौपानेले बचाऊ गरे ।
आज जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् । उपाधि होडमा कायम रहन थ्री स्टारलाई च्यासलविरुद्वको खेल महत्वपुर्ण छ । अघिल्लो खेलमा विभागीय टिम आर्मीसंग बराबरी खेल्दै अंक बाँड्न परेपछि थ्री स्टार उपाधि होडमा पछाडी परेको थियो ।
अन्तिम मिनेटमा जर्ज प्रिन्स कार्कीले फ्रिकिकमा गोल गरेपछि आर्मीले थ्री स्टारसंग अंक खोस्न सफल भएको थियो । थ्री स्टार शीर्ष स्थानको मनाङ भन्दा ५ अंकले पछाडी छ । मनाङ २७ अंक सहित शीर्ष स्थानमा रहदाँ थ्री स्टारको २२ अंक छ ।
यता, लिगमा राम्रा खेलाडी अनुबन्धन गरेर नतिजा निकाल्न नसकेको च्यासललाई समेत अंक तालिकामा सुधार गर्ने अवसर प्राप्त छ । तर च्यासलसंग मुख्य स्ट्राईकर सन्तोष साहुखल टिममा हुने छैनन् । लिग खेल्न अघिल्लो महिना काठमाडौं आएका उनी जापान फर्किएका छन् ।
अर्का मुख्य स्ट्राईकर विमल घर्तिमगर समेत बैदेशिक प्रशिक्षणमा युरोप लागेपछि च्यासललाई अग्रपङ्तीमा समस्या छ । च्यासल १३ अंक सहित तालिकाको सातौ स्थानमा छ ।