काठमाडौं । पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज (शनिबार) दुई खेल हुदैछ । एपीएफ मैदानमा हुने खेलमा थ्री स्टारले च्यासल युथ क्लब तथा संकटा क्लबले ब्रिगेड ब्वाईज क्लबसंग प्रतिस्पर्धा गर्नेछ ।
बिहान ११ बजे सुरु हुने पहिलो खेलमा थ्री स्टारलाई च्यासलले चुनौती दिन प्रयास गर्नेछ । उपाधि होडमा कायम रहन थ्री स्टारलाई च्यासलविरुद्वको खेल महत्वपुर्ण छ । अघिल्लो खेलमा विभागीय टिम आर्मीसंग बराबरी खेल्दै अंक बाँड्न परेपछि थ्री स्टार उपाधि होडमा पछाडी परेको थियो ।
अन्तिम मिनेटमा जर्ज प्रिन्स कार्कीले फ्रिकिकमा गोल गरेपछि आर्मीले थ्री स्टारसंग अंक खोस्न सफल भएको थियो । थ्री स्टार शीर्ष स्थानको मनाङ भन्दा ५ अंकले पछाडी छ । मनाङ २७ अंक सहित शीर्ष स्थानमा रहदाँ थ्री स्टारको २२ अंक छ ।
यता, लिगमा राम्रा खेलाडी अनुबन्धन गरेर नतिजा निकाल्न नसकेको च्यासललाई समेत अंक तालिकामा सुधार गर्ने अवसर प्राप्त छ । तर च्यासलसंग मुख्य स्ट्राईकर सन्तोष साहुखल टिममा हुने छैनन् । लिग खेल्न अघिल्लो महिना काठमाडौं आएका उनी जापान फर्किएका छन् ।
अर्का मुख्य स्ट्राईकर विमल घर्तिमगर समेत बैदेशिक प्रशिक्षणमा युरोप लागेपछि च्यासललाई अग्रपङ्तीमा समस्या छ । च्यासल १३ अंक सहित तालिकाको सातौ स्थानमा छ ।
दिउँसो साढे २ बजे हुने खेलमा अर्को संकटाले ब्रिगेड ब्वाईजसंग प्रतिस्पर्धा गर्नेछ । उपाधि होडमा मनाङलाई चुनौती दिन सक्ने एक्लो टोली बनेको संकटालाई शीर्ष स्थानको क्लबसंग अंक बराबरी गर्ने अवसर छ ।
तालिकाको पुछार तिर रहेको ब्रिगेडलाई हराउँदै उपाधि यात्रामा बलियो बन्ने लक्ष्य संकटालाई छ । संकटा २४ अंक सहित तालिकाको दोस्रो स्थानमा रहदाँ ब्रिगेड ५ अंक सहित तालिकाको १३ औ स्थानमा छ ।