काठमाडौं । न्युरोड टिम एनआरटीले पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ । शुक्रबार भएको खेलमा जावलाखेल युथ क्लबलाई २ - १ गोल अन्तरले पराजित गर्दै एनआरटीले हारको यात्रा अन्त्य गरेको हो ।
हल्चोकस्थित एपीएफ मैदानमा एनआरटीलाई जित दिलाउन इस्माइ यौबुए र सुशील लामाले एक एक गोल गरे । जवालाखेलका सुमन डंगोलले एक गोल फर्काए ।
पहिलो हाफको ३४ औं मिनेटमा यौबुएले गोल गर्दै एनआरटीलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ५७ औं मिनेटमा सुशीलले गोल गर्दै एनआरटीलाई २ - ० को अग्रता दिलाए । त्यसपछि खेलको ५९ औं मिनेटमा जावलाखेलका सुमनले एक गोल फर्काएपनि टोलीको हार टार्न सकेनन् ।
जावलाखेलसंगको जितसंगै एनआरटीले १० खेलबाट ४ अंक जोडेको छ । एनआरटी अझै लिगको पुछारमा छ । पराजित जावलाखेलको ८ अंक छ । जावलाखेल दशौं स्थानमा छ ।