काठमाडौं । मछिन्द्र फुटबल क्लबले पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ । शुक्रबार भएको खेलमा सरस्वती युथ क्लबलाई ४ - २ गोल अन्तरले पराजित गर्दै मछिन्द्रले पहिलो जित निकालेको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा सुरुवाती अग्रता उल्टाएर मछिन्द्रले लिगको दशौं खेलमा पहिलो जित निकालेको हो । मछिन्द्रलाई जित दिलाउन कप्तान विशाल राई, भसाडिया डियामान्डे,अनिल गुरुङ र विकास राईले एक एक गोल गरे । सरस्वतीका फ्रान्सिस ओन्यामाले एक गोल फर्काउदा एक गोल आत्मघाती उपहार पाएको थियो ।
खेलको चौथो मिनेटमा मछिन्द्रका संजय राजबहाकको आत्माघाती गोलबाट सरस्वतीले अग्रता बनाएको थियो । उनले कर्नर बल क्लियर गर्नेक्रममा दोस्रो बार हुँदै आफ्नै पोस्टमा गोल हुन पुगेको थियो ।
तर, खेलको १६ औं मिनेटमा मछिन्द्र बिशाल राईको गोलबाट खेलमा फर्कियो । विदेशी खेलाडी डियामान्डेको कर्नर बलमा बिशालले हेडबाट गोल गर्दै खेल १ - १ गोलको बराबरीमा ल्याएका थिए ।
खेलको २० औं मिनेटमा डियामान्डेले गोल गर्दै मछिन्द्रलाई २-१ को अग्रता दिलाए । काउण्टर अट्याकमा आएको बलमा डियामान्डेले सरस्वतीको किपरलाई बिट गर्दै चिप गोल गरेका थिए । खेलको २५ औं मिनेटमा अनिल गुरुङले गोल गर्दै मछिन्द्रको अग्रता ३ - १ को बनाए । विवेक पण्डितको फ्रिकिक बलमा अनिलले हेड गोल गरेका थिए ।
त्यसपछि खेलको ३६ औं मिनेटमा सरस्वतीका विदेशी खेलाडी फ्रान्सिसले काउण्टर अट्याकमा गोल गर्दै खेल ३ - २ को स्थितिमा ल्याए ।
पहिलो हाफमा ३ - २ ले पछि परेको सरस्वतीले दोस्रो हाफमा थप गोल फर्काउन सकेन । तर, मछिन्द्रले भने थप एक गोल गर्दै खेल आफ्नो पक्षमा बनाउन सफल भयो । खेलको इन्जुरी समयमा विकास राईले पेनाल्टीमा गोल गर्दै मछिन्द्रलाई ४ - २ को जित दिलाए । सरस्वतीका खेलाडीले विशाललाई लडाएपछि मछिन्द्रले पेनाल्टी पाएको थियो । जसमा विकासले सहजै गोल गरे ।
खेलमा म्यान अफ दि म्याच मछिन्द्रका कप्तान विशाल राई घोषित भए ।
पहिलो जितसंगै मछिन्द्रले १० खेलबाट ६ अंक जोडेको छ । र, मछिन्द्र ११ औं स्थानमा उक्लिएको छ । सरस्वतीले १० खेलबाट १० अंक जोडेको छ ।