काठमाडौं । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत अहिले मछिन्द्र फुटबल क्लब र सरस्वती युथ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
ललितपुरको एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी खेलको पहिलो हाफ सकिदा मछिन्द्रले सुरुवाती अग्रता बनाईरहेको छ । निकै रोमान्चक बनेको पहिलो हाफमा सरस्वतीविरुद्ध मछिन्द्र ३ - २ ले अघि रहेको हो ।
पहिलो हाफमै गोलको वर्षा भएको खेलमा सुरुवाती अग्रता भने सरस्वतीले बनाएको थियो । खेलको चौथो मिनेटमा मछिन्द्रका संजय राजबहाकको आत्माघाती गोलबाट सरस्वतीले अग्रता बनाएको थियो । उनले कर्नर बल क्लियर गर्नेक्रममा दोस्रो बार हुँदै आफ्नै पोस्टमा गोल हुन पुगेको थियो ।
तर, खेलको १८ औं मिनेटमा मछिन्द्र बिशाल राईको गोलबाट खेलमा फर्कियो । विदेशी खेलाडी डियामान्डेको कर्नर बलमा बिशालले हेडबाट गोल गर्दै खेल १ - १ गोलको बराबरीमा ल्याएका थिए ।
खेलको २३ औं मिनेटमा डियामान्डेले गोल गर्दै मछिन्द्रलाई २-१ को अग्रता दिलाए । काउण्टर अट्याकमा आएको बलमा डियामान्डेले सरस्वतीको किपरलाई बिट गर्दै चिप गोल गरेका थिए ।
खेलको २५ औं मिनेटमा अनिल गुरुङले गोल गर्दै मछिन्द्रको अग्रता ३ - १ को बनाए । विवेक पण्डितको फ्रिकिक बलमा अनिलले हेड गोल गरेका थिए ।
त्यसपछि खेलको ३७ औं मिनेटमा सरस्वतीका विदेशी खेलाडी फ्रान्सिसले काउण्टर अट्याकमा गोल गर्दै खेल ३ - २ को स्थितिमा ल्याए ।
यस्तै खेलको ३८ औं मिनेटमा सरस्वतीले बराबरी गर्ने मौका गुमाएको थियो । सरस्वतीका तीर्थ बहादुर बस्नेतले मछिन्द्रका तीन डिफेन्सलाई बिट गर्दै प्रहार गरेको बल पोष्ट माथिबाट आकाशिएको थियो ।
आज दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् । प्रतियोगिता एक जित समेत निकाल्न नसकेको मछिन्द्र आज सरस्वतीलाई हराउँदै ३ अंक जोड्न चाहन्छ । सस्वती समेत कमजोर प्रर्दशन गरिरहेको टोलीविरुद्व सहज जित निकाल्दै शीर्ष ६ भित्र पर्ने लक्ष्यमा छ । सरस्वती १० अंक सहित तालिकाको नवौ स्थानमा छ । मछिन्द्र ३ अंक सहित पुछार देखि दोस्रोमा छ ।