काठमाडौं । उपाधि होडमा रहेको थ्री स्टारले नवौँ चरणको खेलमा विभागीय टिम आर्मीसंग बराबरी खेल्यो । अन्तिम मिनेटमा अंक बाँड्न परेपछि थ्री स्टार शीर्ष स्थानको मनाङ मर्स्याङ्दी भन्दा ५ अंकले पछाडी पर्यो । लिगमा अब चार चरणका खेल बाँकी छन् । थ्री स्टारलाई उपाधि जित्न अब देखिएकाे गाह्रो छ, नतिजाले त्यही भन्छ ।
भलै प्रशिक्षक मेघराज केसी थ्री स्टारले अन्तिम खेलसम्म प्रयास गर्ने बताउँछन् । उपाधिको लगाम अब थ्री स्टारको हातमा छैन । उसले अब मनाङ र संकटाको खराब नतिजा पर्खन पर्नेछ । जारी लिगमा बलियो देखिएको मनाङले थ्री स्टार र आर्मीलाई हराउँदै उपाधिमा एक्लो दाबेदारीता प्रस्तुत गरिसकेको छ ।
दोस्रो स्थानमा रहेको संकटाको बास्तविक परिक्षण अब सुरु हुनेछ । लिगको पुर्वसन्ध्यामा संकटाका अध्यक्ष रहेका ईन्द्रमान तुलाधरले भनेका थिए, ‘राम्रा खेलाडी पाईएनन् । राष्ट्रिय टिमका अधिकांश खेलाडी ठुला टिममा छन् । राम्रा विदेशी ल्याएर नतिजा निकाल्ने योजना छ ।’
तर अचम्म लाग्न लाग्छ, संकटाले जारी लिगमा एक खेलमात्र गुमाएको छ । आठ स्पष्ट जित निकालेको छ । मनाङलाई उपाधि यात्रामा टक्कर दिन सक्ने संकटा एक्लो क्लब बनेको छ ।
फेरी पनि भनौ, संकटाको वास्ताविक परिक्षण अब सूरु हुनेछ । संकटाले बलिया प्रतिद्वन्दीसंग खेल्न बाँकीनै छ । मनाङ र थ्री स्टारसंग उसले निकाल्ने नतिजा निकै महत्वपुर्ण हुने छ । ठुला क्लबसंग भिड्न सक्ने मनोबिज्ञान जुटाउनु संकटाका लागि चुनौतीपुर्ण छ ।
कारण, लिग चरणमा संकटाले विभागीय टिम आर्मीसंग ५–१ को लज्जास्पद हार ब्यहोरेको थियो । नत्र विदेशी खेलाडीको प्रेरणादायी प्रर्दशनमा संकटाले लिगमा आफुलाई बलियो दाबेदारको रुपमा प्रस्तुत गरेको छ ।
उपाधि जित्ने आर्मीको सम्भावना अब गणितिय मात्र हो । आर्मी शीर्ष स्थानको मनाङ भन्दा ९ अंकले पछाडी छ । थ्री स्टारसंग बराबरी नतिजा निकालेपछि आर्मीका प्रशिक्षक नविन न्यौपानेले समेत माने, ‘अब हाम्रो लक्ष्य भनेको शीर्ष तीन भित्र पर्नु हो । आर्मीले त्यसैका लागि मेहनत गर्नेछ ।’
उपाधि लक्ष्य सहित लिगको सुरुवात गरेको आर्मीले सुरुवातमा स्वभाविक लय देखाउन सकेन । जति बेला लयमा देखियो, त्यो समय ढिला भईसकेको थियो । आर्मीलाई नवयुग श्रेष्ठको फर्मले समेत दुख दियो । राष्ट्रिय टिमका नियमित स्ट्राईकर घरेलु लिगमा चम्किन सकेनन् । कार्डका कारण कप्तान भरत खवासले महत्वपुर्ण खेल गुमाउन पुगे ।
नतिजा र तालिकाको अंकले लिगको मुख्य दाबेदार मनाङ हो भन्छ । तर मनाङले केही ठुला खेल खेल्न बाँकी छ । विभागीय टिम पुलिस र संकटाविरुद्व मनाङले निकाल्ने नतिजाले उपाधिको बिषयमा धेरै कुरा बोल्नेछ ।
तर कागजमा सही, अहिले लिगको मुख्य दाबेदार मनाङनै हो । प्रतियोगिताको एक मात्र अपराजित टोली मनाङले प्रतियोगितामा शतप्रतिशत जित निकालेको छ । अफ्रिकन खेलाडी ओलावाले अफिज मनाङका मुख्य हतियार देखिएका छन् । जारी लिगमा ६ गोलका गरेका उनीले सबै टोलीको डिफेन्स लाईनलाई सहजै बिट गर्न माहिर देखिएका छन् ।
अफिजले पाएको दोहोरो पहेलो कार्डले मनाङलाई सताएको छ । उनले पुलिसविरुद्वको आगामी खेल गुमाउनेछन् । मुख्य मिडफिल्डर सुजल श्रेष्ठ र प्रकाश बुढाथोकीको कमब्याकको प्रतिक्षा मनाङलाई छ ।