काठमाडौं । पल्सर सहिद स्मारक ए डिभिजन लिगमा थ्री स्टार क्लबले विभागीय टिम आर्मीसंग बराबरी खेल्दै अंक बाँडेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा थ्री स्टार र आर्मीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।
खेलको अन्तिम मिनेटमा गोल गर्दै आर्मीले थ्री स्टारसंग अंक खोस्न सफल भएको हो । फरवार्ड जर्ज प्रिन्स कार्कीले दोस्रो हाफको ईन्जुरी समयमा प्राप्त फ्रिकिकलाई गोलमा परिणत गर्दै आर्मीलाई एक अंक दिलाउन सफल भए ।
खेलको ७० औ मिनेटमा निराजन खड्काको गोलमार्फत थ्री स्टारले सूरुवाती अग्रता लिएको थियो । पिटर सेगुनले उपलब्ध गराएको बलमा अजायी मार्टिनले हेडमार्फत मिलाई दिएको पासमा निराजन गोल गर्न सफल भएका थिए ।
खेलको सुरुवातबाटै दबाब बनाएपनि थ्री स्टारले १६ औ मिनेटमा पहिलो आक्रमण बुनेको थियो । अल्बर्टको पासमा मार्टिनले हानेको बल पोस्ट नजिकैबाट बाहिरिएको थियो । १८ औ मिनेटमा सन्तोष तामाङले दोस्रो बार च्याप्दै हानेको प्रहार विफल भयो ।
३३ औ मिनेटमा थ्री स्टारका मिडफिल्डर मिक्छेन तामाङको फ्रिकिक आर्मीका गोलकिपर विकेश कुथुले हातमा पुग्यो ।
दोस्रो हाफमा थ्री स्टारले अग्रता दोब्बर बनाउने मौका गुमायो । किपर बिट भएको अवस्थामा ८७ मिनेटमा अनिल गुरुङले प्रहार गरेको बल पोस्टमा लागेर फर्किएको थियो ।
यता, ३८ औ मिनेटमा आर्मीका कप्तान नवयुग श्रेष्ठको पासमा सन्तोष तामाङले दोस्रो बार च्याप्दै हानेकार बल पोस्ट नजिकैबाट बाहिरियाे । कप्तान भरत खवास दोहोरो पहेलो कार्डका कारण थ्री स्टारविरुद्वको खेलमा अनुपस्थित थिए ।
बराबरीसंगै थ्रीस्टारको उपाधि होड कमजोर बनेको छ । थ्री स्टारको ९ खेलबाट २२ अंक भएको छ । तेस्रो स्थानमा रहेको थ्री स्टार शीर्ष स्थानको मनाङ भन्दा ५ अंकले पछाडी परेको छ । चौथो स्थानको आर्मीले समेत १८ अंक जोडेको छ ।