काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान एलबी क्षेत्रीको संस्मरणात्मक पुस्तक ‘कप्तान १९९८’ पुसको तेस्रो साता बजारमा आउने भएको छ । प्रकाशक क्रियटिभ बुक्सले एक प्रेस बिज्ञप्ती जारी गर्दै खेलकुद विधाको अर्को पुस्तक ‘एलबी क्षेत्र : कप्तान १९९८’ पुसको तेस्रो साता सार्वजनीक गर्ने जानकारी दिएको हो ।
पहिलो राष्ट्रिय टिमका उपकप्तान क्षेत्रीले सन् १९९८ मा नेपालमा भएको दोस्रो एसीसी कप क्रिकेट प्रतियोगितामा नेपालको कप्तानी सम्हालेका थिए ।
प्रकाशन गृह क्रियटिभ बुक्सका अध्यक्ष टीएस ठकुरीले पुस्तकमा नेपाली क्रिकेटको ईतिहास, समकालीन क्रिकेटरको संघर्षको कथा समेटिएको बताए ।
राष्ट्रिय टिमका पुर्व कप्तान रहेका क्षेत्रीले नेपालमा महिला क्रिकेटको अवधारणा सहित सुरुवात, विकास र विस्तारमा नेतृत्व गरेका थिए । उनैको नेतृत्वमा बाँकेको कोहलपुरमा अन्तराष्ट्रिय क्रिकेट मैदान निमार्णको पहल भएको थियो ।
क्रिकेट विवाद समाधानका लागि अन्तराष्ट्रिय क्रिकेट परिषद् आईसीसीले गठन गरेको स्वतन्त्र कमिटिका सदस्य समेत रहेका क्षेत्रीको पुस्तकमा क्रिकेटमा देखिएको चरम विवाद, राजनैतिक हस्तक्षेप, आईसीसीको निलम्बन र समाधानका उपाय समावेश गरिएको छ ।
क्रियटिभ बुक्सले यसअिघ कीर्तिमानी भारोत्तोलन खेलाडी सुरेन्द्र हमालको आत्मकथा ओलम्पियन बजारमा ल्याएको थियो ।