काठमाडौं । पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत नवौ चरणको अन्तिम दिन आज (बुधबार) दुई खेल हुदैछ । पहिलो खेलमा बिग्रेड ब्वाईज क्लब र नेपाल पुलिस क्लब तथा दोस्रो खेलमा रुस्लान थ्री स्टार र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुवै खेल ललितपुरको सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा हुनेछ ।
बिहान ११ बजे पहिलो खेलमा विभागीय टिम पुलिसले तालिकाको पुछारतिर रहेको ब्रिगेड ब्वाईजसंग खेल्नेछ । जित निकाल्दै अंक तालिकामा सुधार गर्ने अवसर पुलिसलाई प्राप्त छ । पछिल्लो समय लयमा देखिएको पुलिसको गोल समेत निस्कन थालेको छ । पुलिस १४ अंक सहित तालिकाको पाँचाै स्थानमा छ । ब्रिगेड ४ अंक सहित तालिकाको १२ औ स्थानमा छ ।
आजै हुने महत्वपुर्ण खेलमा थ्री स्टार र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । उपाधि होडमा रहन दुवै टोलीलाई जित आवश्यक छ । खेलको नतिजाले उपाधि होडबारे धेरै कुरा बोल्नेछ । दुवै टोलीको लक्ष्य स्पष्ट जित निकाल्दै शीर्ष स्थानको मनाङ माथि दबाब राख्नु हुनेछ । बराबरीको नतिजाले शीर्ष स्थानको मनाङलाई फाईदा पुग्न सक्नेछ । थ्री स्टार र आर्मी दुवै टोली जारी लिगमा मनाङसंग मात्र पराजित भएका छन् ।
थ्री स्टार २१ अंक सहित तेस्रो स्थानमा छ । आर्मी १७ अंक जोडेर तालिकाको चौथो स्थानमा छ ।