काठमाडौं । पल्सर सहिद स्मारक ए डिभिजन लिगमा विभागीय टिम एपीएफले मछिन्द्र क्लबलाई पराजित गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा मंगलबार भएको खेलमा एपीएफले मछिन्द्रलाई ३–१ गोल अन्तरले हराएको हो ।
जितसंगै एपीएफले ९ खेलबाट १३ अंक जोडेर तालिकाको आठौ स्थानमा रहेको छ । मछिन्द्र ३ अंक सहित तालिकाको पुछारमा यथावत छ ।
पहिलो हाफमा २–१ को अग्रता लिएको एपीएफले दोस्रो हाफमा थप एक गोल गर्यो ।
खेलको चौथो मिनेटमा आशिष लामाले गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए । लगत्तै श्याम कुमार नेपालीको पासमा युवराज खड्काले हेड गोल गर्दै एपीएफको अग्रता दोब्बर बनाए ।
३४ औ मिनेटमा मछिन्द्रका अल्बा एडिमोलाले गोल गर्दै गोल अन्तरलाई घटाउने प्रयास गरे । जारी लिगमा मछिन्द्रको यो पहिलो गोल हो । खेल सकिन एक मिनेट बाँकी छदाँ रुपबहादुर लामाले गोल गर्दै एपीएफको जित निश्चित गरेका थिए ।
खेलकाे 'म्यान अफ दी म्याच' एपीएफका राजेन्द्र रावल भए ।