काठमाडौं । पल्सर सहिद स्मारक ए डिभिजन लिगमा सरस्वती युथ क्लब र जावलाखेल युथ क्लबले बराबरी खेल्दै अंक बाँँडेका छन् । एन्फा टेक्निकल सेन्टरमा सोमबार भएको दोस्रो खेलमा सरस्वती र जावलाखेलले गोल रहित बराबरी खेलेका हुन् ।
खेल अवधिभर दुवै टोलीले अवसर सिर्जना गरेपनि गोल गर्न भने सकेनन् । चौथो मिनेटमा सरस्वतीका खेलाडी भिक्टोरले एकल प्रयासमा प्रहार गरेको बल पहिलो बारमा लाग्दै बाहिरिएको थियो ।
२० औ मिनेटमा जावलाखेलका विदशी खेलाडी लावलले हानेको फ्रिकिकलाई सरस्वतीका गोलकिपर प्रदीप भण्डारीले सहजै बचाएका थिए । खेलको अन्तिम समयमा जावलाखेलले गोल गर्ने अवसर चुकायो । सुशिल कुमार यादवको पासमा सुमन डंगोलको हेड पोस्ट नजिकैबाट बाहिरिएको थियो ।
बराबरीपछि जावलाखेलले ८ अंक जोड्दै दशौँ स्थानमा छ । सरस्वती १० अंक सहित नवौँ स्थानमा छ ।