काठमाडौं । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल अन्तर्गत आठौं चरणका खेलहरु शनिबारबाट सकिएको छ ।शनिबार रुस्लान थ्री स्टार र मछिन्द्र फुटबल क्लबबीचको खेलसँगै आठौँ चरणका खेलहरु सकिएको हो ।
लामो समयपछि राजधानीमा जारी 'ए' डिभिजन लिगको आठौं चरणका खेल समाप्तिमा सिग्नेचर मनाङ मर्स्याङ्दी क्लबले आफ्नो शीर्ष स्थान कायम राख्न सफल भएका छन् । लिगका ५ खेल बाँकी रहँदा मनाङ उपाधितर्फ एक कदम अघि बढेको छ ।
आठौं चरणसम्म शतप्रतिशत जित निकाल्न सफल मनाङले २४ अंक जोडेको छ । मनाङ दोस्रो स्थानको थ्री स्टार भन्दा स्पष्ट ३ अंकले अघि छ । थ्री स्टारले २१ अंक जोडेको छ । गोल अन्तरमा पछि पर्दै तेस्रो स्थानमा रहेको सिएमजी संकटाको पनि २१ अंक छ ।
उपाधि होडको छिनोफानो जस्तै रहेको खेलमा त्रिभुवन आर्मी क्लबलाई १ - ० ले हराएर मनाङले उपाधि होड कायम राखेको हो । १७ अंक जोडेको आर्मी चौथो स्थानमा खुम्चिएको छ ।
आर्मीविरुद्धको जितपछि मनाङका प्रशिक्षक सुमन श्रेष्ठले टिमले उपाधि जित्ने आशा बढेको दाबी गर्छन्।
'अब हामी उपाधि नजिक लगभग ७५ प्रतिशतले अघि बढेका छौं,' मनाङका प्रशिक्षक श्रेष्ठ उपाधि जित्नेमा निर्धक्क देखिए ।
मनाङविरुद्ध मैदान उत्रदा आर्मी उसलाई रोक्दै उपाधि होड रोमाञ्चक बनाउँने लक्ष्यमा थियो । मनाङलाई पराजित गर्न आर्मीले तालिममा रहेका जर्ज प्रिन्स कार्की झिकाएको थियो ।
आर्मीले मनाङविरुद्ध राष्ट्रिय टिमका फरवार्ड भरत खवास र नवयुग श्रेष्ठसहित जर्ज प्रिन्सलाई मैदान उतारेको थियो । तर, त्यसमा आर्मी असमर्थ देखियो ।
आर्मीविरुद्ध मनाङको जितसँगै थ्री स्टार र संकटाको लिग जित्ने सपनामा धक्का लागेको थियो । आर्मीले मनाङलाई हराएको स्थितिमा तीनै क्लबको अंक बराबरी हुने थियो । जारी लिगमा थ्री स्टारले मनाङसँग हार व्यहोरीसकेको छ भने संकटा क्लबले मनाङसँग खेल्न बाकी रहेको छ ।
मनाङ र संकटाबीचको खेल तालिका दशौं चरणपछि निर्धारण हुनेछ । अब मनाङले लगातार दुई ठुला टिमसंग खेल्दैछ । नवौं चरणमा मनाङले च्यासल युथको सामना गर्नेछ भने दशौं चरणमा नेपाल पुलिस क्लबको सामना गर्नेछ । यस दुई खेलले पनि मनाङको उपाधि यात्राको छिनोफानो गर्नेछ ।
आठौं चरण सकिदा नेपाल पुलिस क्लब १४ अंक जोडेर पाँचौ स्थानमा छ । यस्तै १३ अंक जोडेर च्यासल छैटौं, ११ अंक जोडेको हिमालयन शेर्पा सातौं, १० अंकसहित एपिएफ आठौं स्थानमा रहेका छन् ।
सरस्वती ९ अंकजोडेर नवौं, ७ अंक जोडेको जावलाखेल दशौं, ५ अंकसहित फ्रेन्ड्स ११ औं, ४ अंकसहित ब्रिगेड ब्वाइज १२ औं, ३ अंक जोडेको मछिन्द्र १३ औं र १ अंक जोडेको एनआरटी १४ औं स्थानमा रहेका छन् ।
पल्सर 'ए' डिभिजन लिगको आठौं चरण सकिदा थ्री स्टार क्लबका डिफेन्डर रन्जित धिमाल सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा रहेका छन् । आठौं चरणको खेल सकिदाँ रन्जितको ७ गोल गरिसकेका छन् । रन्जितले पेनाल्टीमा ५ गोलगर्दा एक पेनाल्टी रिवाउण्ड र एक फ्रिकिकबाट गोल गरेका हुन् ।
यस्तै मनाङका अन्जन विष्ट र विदेशी खेलाडी ओलावाले आफिजको ५/५ गोल रहेको छ ।