काठमाडौं । पल्सर सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा रुस्लान थ्री स्टार क्लबले मछिन्द्र फुटबल क्लबलाई पराजित गरेको छ । हलचोकस्थित एपीएफ मैदानमा आज भएको दोस्रो खेलमा थ्री स्टारले मछिन्द्रलाई १–० गोल अन्तरले हराएको हो ।
डिफेन्डर रन्जित धिमालले खेलको १२ औ मिनेटमा पेनाल्टीमा गरेको गोल थ्री स्टारलाई जितका लागि पर्याप्त बन्यो ।
थ्री स्टारका मिडफिल्डर निराजन खड्काले प्रहार गरेको बल मछिन्द्रका डिफेन्डर अन्जन देबकोटाले हातले रोकेपछि ललितपुरे क्लबले पेनाल्टीको अवसर पाएको थियो ।
३४ औं मिनेटमा थ्री स्टारका अल्बर्टको शसक्त प्रहार मछिन्द्रका गोलकिपर दिप कार्कीले उत्कृष्ट बचाऊ गरेका थिए ।
८२ औ मिनेटमा मछिन्द्रका अनिल गुरुङको प्रहार थ्री स्टारका गोलकिपर एलन न्यौपानेले उत्कृष्ट ढङ्गले बचाउ गरेका थिए ।
जितपछि थ्री स्टारले ८ खेलबाट २१ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । मछिन्द्र ३ अंक सहित तालिकाको पुछारदेखि दोस्रोमा छ ।